नेकपा एकीकृत समाजवादीका नेता अशोक कोइरालाको निधन भएको छ । तीन साता अघि पार्टीकै कामको शिलशिलामा कपिलवस्तुमा रहँदा ब्रेन हेमरेज भएका कोइराला त्यसयता अचेत अवस्थामा थिए ।
भैरहवा स्थित अस्पतालमा उपचाररत् उनलाई काठमाडौं स्थित शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो । त्यही उपचारका क्रममा उनको निधन भएको नेकपा एकीकृत समाजवादी बाँकेका प्रचार विभाग सहसंयोजक लोकनाथ शर्माले जानकारी दिएका छन् ।
स्वर्गीय नेता कोइरालाका एक छोरा एक छोरी रहेका छन् । उनको परम्परागत संस्कार अनुसार भोलि मंगलबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।
बाँकेको कोहलपुर निवासी समाजवादीका पोलिटव्यूरो सदस्य समेत रहेका कोइरालाले जिल्ला इन्चार्जको जिम्मेवारी समेत वहन गरेका थिए । समाजवादीमा लाग्नु अघि विद्यार्थीकालबाटै कम्युनिष्ट आन्दोलनमा सक्रिय कोइरालाले नेकपा एमालेको विभिन्न तहमा नेतृत्व गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी पनि बहन गरिसकेका थिए ।






























