बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणालाई राज्य विरूद्धको कसुरमा मुद्दा चल्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका सांसद राणासहित ११ जनालाई उक्त मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको हो ।
सांसद डा. राणासँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १० जनालाइ हतकडी लगाएर लगिएपनि सांसद राणालाई हतकडी नलगाएर म्याद थपका लागि काठमाडौं अदालत उपस्थित गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी अपिलराज बोहराले सरकारी वकिल कार्यालय काठमाडौंले ११ जनालाई राज्य विरूद्धको कसुर तथा संगठित अपराधमा अनुसन्धान गर्न लागेको जानकारी दिए । अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा १० दिनको म्याद माग गरेपनि ५ दिन दिइएको बताइएको छ । यही चैत्र १५ गते पक्राउ परेका बाँकी ३० जना विरूद्ध छुट्टै मुद्दामा अनुसन्धान गरिने भएको छ ।
राजसंस्था पुनस्र्थापनाका लागि दुर्गा प्रसाईंको आब्हानमा प्रदर्शनपछि तोडफोड, आगजनी र लुटपाट भएको थियो । प्रसाईंको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ तथा राप्रपा र राप्रपा नेपालले पनि समर्थन गरेका थिए । राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री डा. राणा सुवेदी नेतृत्वको समितिमा थिए । प्रसाईंलाई भने ‘जनकमान्डर’ तोकिएको थियो । प्रदर्शनमा मिश्र र राणा सहभागी रहेको र उनीहरूले प्रदर्शनकारीलाई भड्काएको प्रहरीको आरोप छ ।
शुक्रबारको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार छन् । प्रसाईले आइतबार फेसबुकमा भिडियो पोष्ट गर्दै आफू काठमाडौंको एक मन्दिरमा बसेको सूचना दिएका छन् । ज्यान सुरक्षाका लागि त्यसरी बसेको उनले खुलाए ।































