बाँकेका खजुरा गाउँपालिका वडा नं. २ स्थित सितापुर स्वास्थ्य चौकीमा आइतबार आयोजना गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा गरिएको परीक्षणमा १६ महिलामा पाठेघरको मुखको क्यान्सरको आशंका गर्र्दै थप परीक्षणका लागि सिफारिस गरिएको छ ।
विशेषज्ञ चिकित्सकद्वारा गरिएको चेकजाँच र प्राविधिक परीक्षामा पाठेघरमा गम्भीर समस्या भएको देखिएपछि बिरामीलाई थप उपचारका लागि रेफर गरिएको हो ।
खजुरा गाउँपालिका लगायत विभिन्न संस्थाको आयोजनामा भएको स्वास्थ्य शिविरको उद्घाटन वडा नं. २ का वडाध्यक्ष धनराम ओलीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम पछि शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो ।
‘शिविरमा कुल २ सय ३ जनाले सेवा लिएकोमा १ सय ३९ जनाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो’, कार्यक्रमका आयोजक बि ग्रुपका पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका संयोजक समद सिद्दिकीले जानकारी दिए । उनका अनुसार, शिविरमा पाठेघर खसेको समस्या ५ जनामा र ७१ जनालाई पाठेघर सम्बन्धि संक्रमण जस्तै सर्भिसाइटिस, भ्याजिनाइटिस, भल्भाइटिस जस्ता अन्य संक्रमण भेटिएको थियो ।
खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले स्वास्थ्य शिविर रोगको पहिचानका लागि उपयुक्त हुने बताइन् । ‘विशेषज्ञ चिकित्सक सहितको चेकजाँच हुँदा स्वास्थ्य समस्या पत्ता लगाउन र उपचार अघि बढाउन सहज हुन्छ’, उनले भनिन्, ‘तत्काल रोगको पहिचान हँुदा निधान पनि सहज हुन्छ ।’ उनले पाठेघरको समस्या देखिई थप उपचारका लागि पठाउने बिरामीका लागि थप उपचारका लागि सहयोग आवश्यक भए त्यसका लागि पहल गर्ने बताइन् ।
शिविर आयोजक एमडिएम फ्रान्सका प्रोग्राम म्यानेजर तर्क बहादुर थापाले खजुरामा महिलामा हुने स्वास्थ्य समस्या र विशेषगरी महिलाको पाठेघर खस्ने समस्यालाई फोकस गरेर शिविर आयोजना गरेको जानकारी दिएका छन् । ‘लुम्बिनीमा बाँकेमा सरसरफाईका क्षेत्रमा काम गर्ने तथा किसान महिला लगायतकालाई फोकस गरी स्वास्थ्यका क्षेत्रमा काम गरिरहेका हौं’, उनले भने, ‘शिविरबाट स्वास्थ्य समस्या पहिचान भएकालाई आवश्यकता अनुसार थप उपचारका लागि पहल गर्छौ ।’ उनले रासायनिकको प्रयोगबाट सिर्जना हुने विभिन्न स्वास्थ्य समस्याका बारेमा समेत परियोजनाले काम गरिरहेको जानकारी दिएका छन् ।
स्वास्थ्य शिविरमा ३८ जना स्वास्थ्यकर्मी, स्वास्थ्य प्राविधिक, स्वयंसेवकले सेवा दिएका थिए । डा. उर्मिला पराजुली, डा. मन्ञु बिसी, डा. शंकर केसी, परियोजनाका स्वास्थ्य अधिकृत रूपक न्यौपाने लगायतले शिविरमा आउनेहरूको स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य शिविरको समापन खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले गरेकी थिइन् भने शिविरको अनुगमन जनस्वास्थ्य कार्यालय बाँकेका स्वास्थ्य निरीक्षक नरेश श्रेष्ठ र विष्णु श्रेष्ठले गरेका थिए ।