बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा वैकुण्ठधामको भौतिक पूर्वाधार निर्माणको प्रारम्भिक चरण सुरु भएको छ । संघीय सरकारले बजेट सुनिश्चित गरेपछि बैकुण्ठ धाममा घाट निर्माणका लागि टेण्डर आव्हान भएको हो । यसअघि भएको टेण्डर आव्हानमा निर्धारित शर्त पूरा नभएपछि सहरी विकास तथा भवन निर्माण कार्यालयले पुनः टेण्डर आव्हान गरेको हो ।
‘यसअघि आव्हान गरिएको टेण्डरमा शर्त पूरा नभएपछि पुनः टेण्डर आव्हान गरिएको छ’, सहरी विकास तथा भवन निर्माण कार्यालय नेपालगन्जका प्रमुख, राम कृष्ण आचार्यले भने, ‘अब समयसीमा भित्र योग्यता पूरा भएका ठेकेदारबाट बोलपत्र दर्ता भएमा सम्झौता भएर कार्य अगाडि बढ्छ ।’ उनले असार मसान्त भएपछि टेण्डर सम्झौता भएपनि आगामी आ.व.मा काम हुने र बजेट सुनिश्चित हुने बताएका छन् । सहरी विकास तथा भवन निर्माण कार्यालय नेपालगन्जका प्रमुख, राम कृष्ण आचार्यले टेण्डर बैकुण्ठ धाममा घाट निर्माणको लागि गरिएको बताएका छन् ।
बैकुण्ठधाम सिधनियाघाटका सचिव श्रीराम सिग्देलले प्रारम्भिक चरणको डिपिआर सम्पन्न भैसकेको बताएका छन् । ‘सरकारले बजेट पनि दियो, टेण्डरमा शर्त पूरा नहुँदा पुनः टेण्डर आव्हान भएको छ’, उनले भने, ‘यसै महिना ठेकेदारसँग सम्झौता भएर पूर्वाधारको काम अघि बढ्छ भन्नेमा विश्वस्त छौं ।’
बैकुण्ठधाम सिधनियाघाटका सचिव सिग्देलले अन्य पूर्वाधार निर्माण अघि तटबन्ध, पर्खाल लगायतको काम गरी निर्माण स्थल सुरक्षित बनाउन आवश्यक रहेकाले हाल त्यसैका लागि टेण्डर भएको जानकारी दिएका छन् ।
बाँकेको डुडुवा गाउँपालिका ५ राप्ती नदी तटमा वैकुण्ठधाम निर्माण गर्नका लागि आयोजक वैकुण्ठधाम सिधनियाघाटले करिब २८ कठ्ठा जग्गा खरिद गरेको छ । राप्तीको तटसँग जोडिएको स्थानीय व्यक्तिहरूको करिब २८ कठ्ठा जग्गा खरिद गरि बैकुण्ठधामको नाममा नामसारी गरिएको भैसकेको सचिव सिग्देलले बताएका छन् ।
डिपिआर अझै पूर्णरूपमा तयार नभएपनि जग्गाको आवश्यकता अझै बढ्न सक्ने अनुमान वैकुण्ठधाम निर्माण समितिले गरेको छ । जग्गा खरिद गरिएपछि संघीय सरकारबाट निर्माण कार्यको टेण्डर प्रक्रियाको बाटो खुलेको हो ।
डुडुवा ५ सिधनियाघाटमा सुविधासम्पन्न आधुनिक दाहसंस्कार स्थल (वैकुण्ठधाम) निर्माण गर्ने जनाउँदै आयोजक वैकुण्ठधाम सिधनियाघाट निर्माण समितिले नेपालगन्जमा आध्यात्मिक महोत्सव सञ्चालन गरेको थियो ।
गत कात्तिक २२ गतेदेखि ३० गतेसम्म भएको महोत्सवबाट कुल तीन करोड तीन लाख १५ हजार चार रुपियाँ सङ्कलन भएको थियो । जसमा ७५ लाख सात हजार ३७७ रुपियाँ खर्च भएको थियो भने कुल दुई करोड २८ लाख सात हजार ६२७ रुपियाँ आम्दानी भएको थियो ।