नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८२÷८३ का लागि कक्षा ११ (प्लस टु) को प्रवेश परीक्षा (इन्ट्रान्स) बुधवार भव्यताका साथ सञ्चालन भएको छ ।
विज्ञान र व्यवस्थापन संकायमा अध्ययनका लागि विद्यार्थीहरूको उल्लेख्य सहभागिताले विद्यालय परिसर बिहानैदेखि गुञ्जायमान थियो । अभिभावकहरूसँगै आएका विद्यार्थीहरूले आदर्श मावि आफ्नो पहिलो रोजाइ भएको बताए ।
विद्यार्थी र अभिभावकको बढ्दो आकर्षण
विद्यालयका प्रधानाध्यापक महेश्वर जोशीले पछिल्ला वर्षहरूमा विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण झनै बढेकोमा खुसी व्यक्त गरे । ‘यो वर्ष ५ सय बढी विद्यार्थीले प्रवेश परीक्षा दिए,’ उनले भने, ‘जुन विद्यालयको बढ्दो लोकप्रियताको प्रमाण हो । बुधवारको प्रवेश परीक्षाबाट योग्य र इच्छुक विद्यार्थीहरू छनोट गरिनेछ भने उनीहरूको क्षमता र उत्कृष्टताका आधारमा छात्रवृत्तिको व्यवस्था पनि गरिएको विद्यालयले जनाएको छ ।
राजधानीस्तरको शिक्षा, स्थानीय स्तरमै
शैक्षिक सल्लाहकार प्रकाश लामिछानेका अनुसार आदर्श माविले राजधानीस्तरको शिक्षालाई स्थानीय स्तरमै उपलब्ध गराउने लक्ष्य राखेको छ । उनले कर्णालीका बालबालिका राजधानी काठमाडौं भन्दा नेपालगन्जलाई रोजाईमा राख्ने गरेको अनुभव सुनाए ।
आदर्शले अनुसन्धानमा आधारित शिक्षण, मनोवैज्ञानिक सहयोग (साइकोलोजिकल सपोर्ट), आधुनिक प्रयोगशाला र दक्ष शिक्षकहरूको संयोजनमार्फत शैक्षिक उत्कृष्टता कायम राख्दै आएको जनाएको छ ।
गुणस्तर र पूर्वाधारमा विश्वास
विद्यालयका प्रमुख निर्देशक इश्वरप्रसाद पोखरेलले विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधारले विद्यार्थी र अभिभावक दुवैको विश्वास जितिरहेको बताए । ‘आजको प्रवेश परीक्षामा देखिएको भव्य सहभागिता त्यसैको प्रमाण हो,’ आदर्श विद्यालयमा बुधवार देखिएको रौनकपूर्ण चहलपहल देखाउँदै उनले थपे ।
प्रमुख निर्देशक पोखरेलले छात्रवृत्तिको आधार तय गर्नेदेखि विद्यार्थीले आफ्नो क्षमता जाँच्ने अवसरका रुपमा प्रवेश परीक्षालाई व्याख्या गरे । ‘विद्यालयले पनि यहाँबाट आउने नतिजाका आधारमा स्तरीय शिक्षण पद्धतिका लागि आवश्यक व्यवस्थापन मिलाउँछ,’ उनले भने ।
२६ वर्षको अटुट यात्रा
लगातार २६ वर्षदेखि गुणस्तरीय शिक्षामा समर्पित आदर्श माविमा बुधवारको प्लस टु भर्ना प्रवेश परीक्षाको आयोजनालाई आगामी भविष्यका लागि विद्यालयको प्रतिबद्धता र विद्यार्थीको आकर्षणको महत्वपूर्ण संकेतका रूपमा हेरिएको विद्यालयका अध्यक्ष सन्जय थापाले बताए । यसले नेपालगन्ज क्षेत्रमा शिक्षाको गुणस्तर अभिवृद्धिमा आदर्श माविले खेलेको अग्रणी भूमिकालाई थप उजागर गरेको छ ।
