बास्केटबल प्रतियोगिता आजदेखि महेन्द्र बहुमुखी क्याम्पसको कोर्टमा धमाकेदार रूपमा सुरु भएको हो। द थ्री चेयर्स द्वारा आयोजित र स्ववियू (स्वतन्त्र विद्यार्थी यूनियन) को सहकार्यमा सञ्चालन भएको यो प्रतियोगिता महेन्द्र बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख श्रीधर अधिकारीले उद्घाटन गरेका थिए।
कार्यक्रमको अध्यक्ष सागरराज आचार्यका अनुसार, ´यो प्रतियोगिता तीन दिनको मात्रै होइन, बास्केटबलको निरन्तर यात्राको सुरुवात हो,´भन्दै उनले यसलाई स्थायी बनाउने प्रतिबद्धता जनाए। प्रतियोगिता बाँके बास्केटबल युनियनका सचिव दीपक धोज शाहीको प्राविधिक सुपरभिजनमा सञ्चालन भइरहेको छ भने उद्घाटनदेखि सम्पूर्ण कार्यक्रम सञ्चालन सजल गैरेले गरेका छन्।
स्वास्थ्य सेवाका लागि कैलपाल हस्पिटल एन्ड कलेज का मेडिकल विद्यार्थीहरूको टोली तयार अवस्थामा खटिएको छ। पहिलो दिनका ६ खेलमा दर्शनीय प्रतिस्पर्धा देखियो: पहिलो खेलमा A2BPS (A5) ले चिसापानी हुपर्स (A3) लाई ८६–४१ ले हराउँदै उत्कृष्ट सुरुवात गर्यो; दोस्रो खेलमा HTX (B3)ले SVS (B4) विरुद्ध ३८–२७ को स्कोरमा जित दर्ता गर्यो; तेस्रो र पाँचौं खेलमा A2BPS ले बिबिए छैठौं सेमेस्टर (A3)लाई क्रमशः ८०–३३ र ८३–३९ को फराकिलो अन्तरले पराजित गर्दै अपराजित टिमको रूपमा उदायो।
चौथो खेलमा बास्केट हाउन्ड्स ले HTX लाई ३९–२० ले हरायो, तर छैठौं खेलमा NSBL ले बास्केट हाउन्ड्स विरुद्ध २३–१८ को जित हात पार्यो। दिनको समग्र नतिजा हेर्दा A2BPS समूह ‘ए’ मा अपराजित अग्रस्थानमा रहेको छ भने HTXसमूह ‘बी’ मा एक जित एक हारको स्थितिमा छ।
प्रतियोगिता भोलि र पर्सिसम्म बिहान र बेलुकाको दुई सत्रमा निरन्तर सञ्चालन हुनेछ, जसमा युवा खेलाडीहरूको गति, रणनीति र सामूहिक समन्वयले नेपालगन्जको बास्केटबल माहोललाई नयाँ उचाइमा पुर्याउँदै लगेको छ।