नेपालगन्ज–११ स्पोर्टिज क्लबले आयोजना गरेको शनिवारको छनोट खेलबाट गठन गरेको ‘टिम नेपालगन्ज’ सार्वजनिक गरिएको छ । नेपालगन्ज रंगशालामा भएको छनोट खेलबाट प्रतिष्पर्धामा सहभागी १ सय २१ ख्ेलाडीमध्येबाट १९ जनाको टिम आइतवार सार्वजनिक गरिएको हो ।
एन्फा ‘सी’ डिभिजन क्वालिफायर प्रतियोगितामा भाग लिएर इतिहास रच्ने लक्ष्य लिएको ‘टिम नेपालगन्ज’ मा छनोट भएका खेलाडीहरुलाई नियमित प्रशिक्षण दिइने क्लब अध्यक्ष घनश्याम थापाले जानकारी दिए । उनले टिम निर्माणदेखि प्रशिक्षणसम्म ठूलो लगानी र समर्पणका साथ तयारी भइरहेको बताएका छन् ।
आगामी भदौ २ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि शनिबार नेपालगन्ज रंगशालामा छनोट खेल आयोजना गरिएको थियो, जहाँ बाँके र बर्दियाका १ सय २१ खेलाडीले भाग लिए । टिम नेपालगन्जमा उपयुक्त खेलाडी तय गर्न मुख्य प्रशिक्षक जनक केसीसहित रविन श्रेष्ठ, सानु तामाङ र रामजीत थारुसहित प्रशिक्षक समूह बनेको अध्यक्ष थापाले जानकारी दिए ।
प्रशिक्षक समूहको छनोट पछि घोषित ‘टिम नेपालगन्ज’मा लक्ष्मण रानामगर, पुरन राना, रोयल पुन, अरुण चलाउने, निरज सुनार, संगम सारुमगर समावेश छन् ।
त्यस्तै, टिममा सन्तोष सोनी, भिषण, सिबास, विपिन थापामगर, सन्देश, महेश थारु, भरत बुढा, चन्द्र, विपिन राई, समिर थापा, रोहित थारु, अनुराग थापा, आषिश भुजेल रहेका छन् । गोलकिपरको रूपमा मुकेश र विशाल थारु छनोट भएका छन् ।
‘टिम नेपालगन्ज’ ले राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन मात्र होइन, उत्कृष्ट प्रदर्शनमार्फत उपाधि जित्ने महत्वकांक्षा राखेको अध्यक्ष थापाको भनाइ छ ।
‘खेलाडीहरूको समर्पण र टोली व्यवस्थापनमा भएको लगानीले यस टोलीलाई सफल बनाउने विश्वास गरिएको छ,’ थापाले टिम घोषणा भएपछि दैनिक नेपालगन्जसँग भने, ‘टिम नेपालगन्जले आगामी सी डिभिजन क्वालिफायरमा नयाँ इतिहास रच्ने तयारी गरेको छ ।’