बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा रहेको कान्ति तालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान थालिएको छ । ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका संयोजक डा वीरेन्द्र कर्णको अगुवाइमा सो हस्ताक्षर सङ्कलन सुरु भएको हो ।
केही दिन अघिदेखि सुरु भएको हस्ताक्षर सङ्कलन केही जारी रहने संयोजक कर्णले जानकारी दिनुभयो । उहाँले अहिलेसम्म करिब २०० जनाको हस्ताक्षर सङ्कलन भएको र सङ्कलन भएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, बाँके र नेपालगन्ज उपमहानगरपालिकालाई बुझाउने कार्यक्रम रहेको बताउनुभयो । “कान्ति तालमा रेलिङ भाँचिएको छ, फोहोरको कुनै व्यवस्थापन गरिएको छैन र पछिल्लो समय मदिरा सेवन गर्ने अखडा बन्न थालेको छ”, उहाँले भन्नुभयो ।
नेपालगन्ज उपमहानगरपालिका–२१ र २२ को पुरैनीमा रहेको सो ताल सिमसार क्षेत्रका रुपमा स्थापित हुन थालेको छ । संयोजक डा कर्णले हस्ताक्षर सङ्कलनपछि तालको संरक्षणमा सरोकार भएका निकायको ध्यान जाने विश्वास व्यक्त गर्दै कान्ति ताल पर्यटकका लागिसमेत गन्तव्य भएको बताउनुभयो ।
“त्यहाँ विभिन्न प्रजातिका चराको बासस्थान छ, यसले पर्यटकलाई समेत लोभ्याउने गर्छ”, संयोजक डा कर्णले भन्नुभयो । करिब २५ बिगाहा क्षेत्रफलमा फैलिएको उक्त प्राकृतिक तालको वरिपरि उपमहानगरले इँटाको पर्खाल र त्यसमा रेलिङ लगाएको थियो । वरिपरि सात मिटर कालोपत्र सडक, डेढ मिटर फुटपाथ र दुई मिटर पार्किङ एरिया बनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–२१ का वडाध्यक्ष राजकुमार शाहु तेलीले कान्ति तालको संरक्षणको खाँचो आँैल्याउँदै कान्ति तालमा रहेका संरचनाको चोरी भइरहेको बताउनुभयो । वडाध्यक्ष तेलीले त्यहाँ जडान भएका विद्युत्का संरचनासमेत चोरी हुँदा अहिले रातिमा बत्ती नबलेको उल्लेख गर्दै बाँकेमा रहेको यस तालको संरक्षण अनिवार्य भएको बताउनुभयो । नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन स्थल समेत भएको बताइएको छ ।