मुलुकको सुरक्षामा प्रमुख भूमिका निर्वाह गर्दै आएको सशस्त्र प्रहरी बलले आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापन, सीमामा निगरानी र भन्सार छली रोकथाममा समेत प्रभावकारी काम गर्दै आएको पुष्टि हुने तथ्याङ्क बाँके जिल्लाबाट सार्वजनिक गरेको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले आर्थिक वर्ष २०८१÷०८२ मा १० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामग्री बरामद गरेर सम्बन्धित निकायमा बुझाएको जनाएको हो । यो तथ्याङ्कले सशस्त्र प्रहरीले केवल सीमाक्षेत्रमै नभई, आर्थिक अपराध नियन्त्रणमा पनि सक्रिय भूमिका खेलेको देखिन्छ ।
गणका अनुसार, भन्सार छली गरिएका सामग्रीको मूल्य १० करोड १६ लाख ४५ हजार ४६८ रुपैयाँ पुगेको छ, जुन नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको हो । यस्तै, ६ लाख ८८ हजार ७३० रुपैयाँ बराबरको काठ बरामद गरेर डिभिजन वन कार्यालयमा, ५८ लाख १० हजार २६९ रुपैयाँ बराबरको पशुपन्छीजन्य सामग्री नष्ट गर्न क्वारेन्टाइन कार्यालयमा बुझाइएको छ ।
सुरक्षाको अतिरिक्त, आर्थिक पारदर्शितामा समेत योगदान पु¥याउँदै सशस्त्र प्रहरीले स्रोत नखुलेको नगद १० लाख १२ हजार ९२५ रुपैयाँ बरामद गरेको छ ।
सुरक्षा कडाइका क्रममा ४४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको तथा १ थान भरुवा बन्दुकसहित अवैध रूपमा प्रयोगमा रहेका ३ वटा गाडी, ३८ थान मोटरसाइकल र ५ वटा अटोरिक्सा नियन्त्रणमा लिइएको छ ।
सशस्त्र प्रहरीको भूमिका आपत्कालीन उद्धार कार्यमा पनि देखिएको छ। बाँकेभर ११० पटक जनचेतनामूलक कार्यक्रम संचालन गरिएको तथा ४८ वटा विपद् घटनामा उद्धार कार्यमा सशस्त्र प्रहरी खटिएको जानकारी गणले दिएको छ ।
यस किसिमका तथ्यले सशस्त्र प्रहरी बलको कर्तव्य केवल सीमामा सुरक्षा कायम राख्नुमा सिमित नरही, जनजीवन सुरक्षादेखि अपराध नियन्त्रण, विपद् व्यवस्थापन र स्रोत पारदर्शितासम्म विस्तारित रहेको देखिन्छ ।
बाँकेजस्तो सीमावर्ती क्षेत्रमा प्रहरीको सक्रियता सशस्त्र बलको गम्भीरता र जिम्मेवारीको परिचायक हो। यसरी प्रस्तुत विवरणहरूले सशस्त्र प्रहरी बलको भूमिकालाई थप व्यापक र विश्वासिलो बनाइरहेको छ ।