अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक बर्ष २०८१÷०८२ मा कुल ९ सय २ उजुरी रहेकोमा ७ सय ८८ उजुरी फस्र्यौट भएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुलेटिन अनुसार, अख्तियारको सम्पर्क कार्यालयमा आर्थिक बर्ष २०८१÷०८२ को सुरुमा अघिल्लो आ.व.बाट सरी आएका १ सय ६९ उजुरी र उक्त आ.व.मा परेका ७ सय ३३ सहित ९ सय २ उजुरी रहेकामा ८७.३६ प्रतिशत उजुरी फस्र्यौट भएको थियो ।
अख्तियारमा देशभर आ.व. २०८१÷०८२ को पहिलो त्रैमासिक अवधिमा ७ हजार ६ सय ६८, दोश्रो त्रैमासिक अवधिमा ५ हजार ७ सय ५६, तेस्रो त्रैमासिक अवधिमा ६ हजार ४ सय ७९ उजुरी परेकोमा चौथो त्रैमासिक (वैसाख–असार) अवधिमा ८ हजार ६ सय ५१ वटा गरी २८ हजार ५ सय ५४ वटा उजुरीहरू परेको थियो । त्यस अघिको आ.व.को जिम्मेवारी सरेर आएका ८ हजार ४ सय ७२ उजुरी समेत गरी कुल ३७ हजार २६ उजुरी गत आ.व.मा रहेका थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार, पहिलो, दोश्रो र तेस्रो त्रैमासिक अवधिमा फछ्यौट भएका उजुरी १९ हजार २ सय ६६ समेत गरी चौथो त्रैमासिक अवधिसम्म २९ हजार ७ सय ३ उजुरी फछ्यौट भएका थिए ।
फछ्यौट हुन बाँकी ७ हजार ३ सय २३ उजुरी अनुसन्धानको क्रममा रही आर्थिक वर्ष २०८२÷८३ को लागि सरेका छन् ।
‘भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्ने अभियानमा आयोगको एक्लो प्रयास मात्र सार्थक नहुने हुँदा नेपाल सरकारका सबै निकाय, सार्वजनिक सेवा प्रदायक संस्था, सरोकारवाला निकाय एवं प्रबुद्ध नागरिक समाज र सञ्चार जगतले समेत आ–आफ्नो ठाउँबाट भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउँदै आगामी दिनमा थप सशक्त र प्रभावकारी भूमिका निभाउन जरुरी छ’, अख्तियारको बुलेटिनमा उल्लेख छ ।
आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासिक अवधिसम्ममा आयोग र आयोगका कार्यालयहरूमा पर्न आएका तथा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका उजुरीहरू मध्ये सबैभन्दा बढी उजुरीहरू १९ हजार ५ सय ६१ आयोग टङ्गालमा दर्ता भएका छन् । त्यसपछि बढी उजुरी आयोगको कार्यालय, बर्दिबासमा ३ हजार ९ सय ७० उजुरी र सबैभन्दा कम उजुरीहरू आयोगको कार्यालय बुटबलको सम्पर्क कार्यालय नेपालगन्जमा ९ सय २ उजुरी रहेका छन् ।
देशभरका आयोगका कार्यालयमा परेका उजुरीमध्ये आयोगले गरेको कारबाहीबाट गत आ.व. ९ सय २७ वटा उजुरी विस्तृत अनुसन्धानमा गएको, ६ हजार ७ सय १५ वटा उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको, ४ हजार ३ सय ५४ वटा उजुरी सोसँग सम्बन्धित अन्य उजुरीमा गाभिएको र १७ हजार १ सय ३० वटा उजुरी तामेलीमा पठाइएको छ ।