नेपालगन्ज उपमहानगर–पालिका वडा नं. २३ मा रहेको एउटा सामुदायिक वनमा २ हजार बढी विरुवा शनिबार वृक्षारोपण गरिएको छ । वृक्षारोपणको क्रममा स्थानीय रुखहरू महुवा, बररो, अमला, शिरीष, लिची, अम्बा, अर्जुन जातका बिरुवा वृक्षारोपण गरिएको ८ बिलियन ट्रिका प्लान्टिङ डाइरेक्टर हेमन्तराज काफ्लेले जानकारी दिएका छन् ।
क्लिन अप नेपालको आयोजना र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडको आर्थिक सहयोगमा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको उद्देश्य संरक्षण र वातावरणीय सचेतना जगाउनु मात्र नभई समुदायलाई समृद्ध वनक्षेत्रको महत्वबारे बुझाउनु पनि रहेको ८ बिलियन ट्रिका प्लान्टिङ डाइरेक्टर काफ्लेले बताए ।
स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक रविन्द्र लामिछानेको सभापतित्वमा भएको वृक्षारोपणको उद्घाटनमा पूर्व मन्त्री मोहम्मद ईस्तियाक राई प्रमुख अतिथि थिए ।
स्वच्छ सफा नेपालका कार्यकारी निर्देशक लामिछानेले वन संरक्षणका पक्षमा वृक्षारोपणको महत्व उल्लेख गर्दै कार्यक्रममा भने, ‘प्रत्येक बिरुवा एक जीवन हो यसले वातावरण मात्र होइन, हाम्रो भविष्य संरक्षित गर्छ ।’
कार्यक्रमका प्रमुख अतिथि राईले राज्य स्तरबाट वनक्षेत्रमा दीगो व्यवस्थापन र सहभागी प्रणालीको आवश्यकता औँल्याउँदै बिरुवा लगाउनलाई आफ्नो पहल र रुखको महत्वको बारेमा जानकारी दिएका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले स्थानीय तहबाट वनसम्बन्धी दीगो पहललाई प्रवद्र्धन गर्न प्रतिबद्धता व्यक्त गरे ।
स्ट्यान्डर्ड चार्टर बैंक नेपाल लिमिटेडका शाखा व्यवस्थापक हर्मेस सोनीले निजी क्षेत्रको सहभागितामा कार्यक्रम सफल भएको उल्लेख गर्दै, स्पोन्सरिंग र दीगो वन व्यवस्था प्रवद्र्धनमा बैंकले भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वृक्षारोपणमा प्याब्सन बाँकेका अध्यक्ष बिकास बज्राचार्य, प्याब्सन नगर अध्यक्ष मानबहादुर थापा, नेपालगन्ज मोडेल एकेडेमीका प्रिन्सिपल बिज्ञान शाह, युनाइटेड विद्यालयका प्रधानाध्यापक जीवराज भण्डारी, तथा विद्यालयका विद्यार्थीहरू वडा २३ का वडा अध्यक्ष, नागरिक समाजका कृष्ण प्रसाद श्रेष्ठ, लाइन्स डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र श्रेष्ठ, लायन्स सेक्रेटरी नरेन्द्र श्रेष्ठ, स्थानीयको उपस्थिति रहेको थियो ।