मानवता र आध्यात्मिकताको सन्देश
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय नेपालगन्जले विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्यस्मृतिको अवसरमा दुई दिने रक्तदान शिविर आयोजनाा गरेको छ ।
शनिवार नेपालगन्जमा भएको शिविरको उद्घाटन लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले गरेका थिए । उनले मानव जीवनको सबैभन्दा ठूलो दान रगत दान भएको भन्दै ओम शान्ति परिवारलाई यस्ता पुण्य कार्यको लागि धन्यवाद दिएका थिए। मन्त्री अग्रवालले आध्यात्मिक चिन्तन, आत्मशुद्धि र मानवताको जागरणमा ओम शान्तिले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।
नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले रक्तदानलाई जीवनदानको महान कार्य ठहर गर्दै ओम शान्ति परिवारको यो अभियान समाजका लागि प्रेरणादायी भएको बताए ।
शिविरमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, लायन्स क्लब, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघलगायतका संस्थाका प्रतिनिधिहरूले समेत रक्तदानलाई जीवनको सच्चा परोपकार र मानवताको अभिव्यक्ति बताए ।
ब्रह्माकुमारी दुर्गाले उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेपाल लगायत एसियाली राष्ट्रहरूमा एकैसाथ सञ्चालन भइरहेको रक्तदान महादान शिविरलाई मानवता र आध्यात्मिकताको साझा अभियानको रूपमा चित्रण गरिन् ।
नेपालमै पहिलो पटक एकै दिन ५ हजार ४७ पिन्ट रगत संकलन भई नयाँ कीर्तिमान कायम भएको छ । नेपालगन्ज क्षेत्र अन्तर्गत मात्रै २११ पिन्ट रगत संकलन भएको छ, जसमा शनिवार ५५ पिन्ट संकलन भएको ब्रह्मकुमार कृष्ण रानाभाटले जानकारी दिए । मधुवन, सानोश्री, बर्दियामा–१३, अत्तरिया चोक, गोदावरी–१, कैलालीमा–१२२ र अमरगढी–डडेल्धुरामा–२१ गरि जम्मा २११ पिन्ट रगत जम्मा भएको उनले बताए ।
ब्र.कु. कृष्णका अनुसार, रक्तदान शिविरलाई रक्तसञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोग र विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना गरिएको हो ।