चाडपर्वअघि यातायात सञ्चालन लक्ष्य
असोज १७ र १८ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको बिपी राजमार्गको डाइभर्सन पुनर्निर्माण सुरु गरिएको छ। काभ्रेको चौकीडाँडाबाट सुरु गरिएको यो काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार चाडपर्वअघि यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित अघि बढाइएको भक्तपुर सडक डिभिजनकी सूचना अधिकारी ई. बिन्दु अधिकारीले जानकारी दिइन्। उनका अनुसार रोसीखोलामा पानीको बहाब घटेपछि मेसिनहरू परिचालन गरी काम सुरु भइसकेको छ । गत वर्ष असोजमा आएको बाढीले बिपी राजमार्गका १६ स्थानमा बनाइएको पाँच हजार तीन सय मिटर लामो अस्थायी डाइभर्सन बगाएको थियो । यस वर्ष पनि असोज १७ र १८ गतेको वर्षाले ती १६ स्थानमा पुनः तीन हजार चार सय दस मिटर डाइभर्सन बगाउँदा हाल राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ। अहिले चौकीडाँडादेखि नेपालथोकसम्म क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण तीव्र गतिमा भइरहेको छ। अधिकारीका अनुसार रोसीखोलाको बहाब भित्तासम्मै पुगेकाले निर्माण कार्य खोलाको प्रवाहमा निर्भर रहेको छ। बिपी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक रूपमा सिन्धुलीको खुरकोट–रामेछाप–मन्थली–तामाकोशी–चरीकोट–खाडीचौर–धुलिखेल हुँदै वा हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल मार्ग प्रयोग गर्न सकिने सडक विभागले जनाएको छ। जापानी सहयोग नियोग (जाइका) को सहयोगमा २७.१ बिलियन येन लागतमा बनेको बिपी राजमार्ग सन् २०१५ (वि.सं. २०७२) मा नेपाललाई हस्तान्तरण गरिएको भए पनि पछिल्ला वर्षहरूमा बारम्बार बाढीपहिरोको मारमा परिरहेको छ, जसका कारण स्थायी संरचना निर्माणको आवश्यकता अझ स्पष्ट भएको सरोकारवालाहरूको भनाइ छ।