मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेमा मंगलबार बिहान इभी (विद्युतीय सवारी) र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
सिन्धुलीको भिमानबाट काठमाडौँतर्फ गइरहेको मधेस प्रदेश ००२÷००१ ज ००७२ नम्बरको इभी गाडी र ना ५२ प ५५९८ नम्बरको मोटरसाइकल बीच ठक्कर हुँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालकसहित १३ जना इभीका यात्रु घाइते भएका स्थानीय विवेक सिङ्तानले जानकारी दिएका छन्।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि बागमतीस्थित सान्बी मेडिकलमा पुर्याइएको र त्यहाँबाट थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण अहिलेसम्म स्पष्ट नभए पनि घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाइरहेको बताइएको छ। घाइतेहरूको परिचय भने सार्वजनिक गरिएको छैन।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।