जिल्ला प्रहरी कार्यालय बाँकेले गत मंसिर ४ गते लागुऔषध मुद्दामा जिल्ला अदालत बाँकेबाट १५ दिन कैद र ५ हजार जरिवाना तोकिएका बैजनाथ गाउँपालिका वडा नं. १ का टोप बहादुर बस्नेतलाई पक्राउ गरी अदालत बुझायो ।
त्यस्तै, गत भाद्र २४ गते जनेजीका प्रदर्शनको मौका छोपी जबर्जस्ती करण मुद्दामा १० बर्ष कैद तोकिएका जानकी गाउँपालिकाका अली साई केन्द्रीय कारागारबाट फरार भए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले गत मंसिर ५ गते पक्राउ गर्यो ।
त्यस्तै, ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका नविन सुनारलाई बाँके प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढायो ।
बाँकेमा फरार पक्राउका यी प्रतिनिधिमूलक घटना मात्रै हुन । बाँके प्रहरीले अदालतबाट बर्षाै कैद सजाय पाए तथा बर्षौदेखि फरार भएका अपराधीहरूलाई खोजी गर्दै अदालतमा बुझाउँदै आएको छ ।
मानिस अपराध गरेपछि आत्तिन्छ, कानुनी कारवाहीबाट भाग्न खोज्छ। तर, कानुनले सधै उसका लागि तोकिएको सजाय दिन खोजिरहन्छ । अपराध गरेपछि सजाय कुनै न कुनै बेला भोग्नै पर्दछ ।
कतिपय घटनामा अदालतबाट सजाय तोकिएको व्यक्ति, उनका परिवार र समाजले समेत बिर्सिसकेका हुन्छन् । तर, कानुनी पानामा उनको अपराध र सजाय लिपिबद्ध गरिएका छन् । जब कानुनले खोज्छ उ कुन न कुनै दिन आफ्नो अपराधको सजाय भोग्न बाध्य हुन्छ । अदालतमा तारेखमा छुटेर पछि फैसला भएकाहरू पनि फरार हुने गरेका छन् । विगतमा तारेखमा छुटेकालाई प्रहरीले नखोजेका कारण पनि फरारको सूचि जिल्लामा लामै रहेको छ ।
बाँकेमा अदालतबाट फैसला भएका र प्रहरीमा उजुरी दर्ता भई फरार भएका हजारौं छन् । अहिले प्रहरीले उनीहरूलाई धमाधम खोज्दै पक्राउ गरिरहेको छ । अपराधीहरूले दशकौंपछि समेत आफ्नो अपराधको सजाय भोग्न कारागार पुग्ने गरेका छन् ।
बाँके प्रहरीले चालु आर्थिक बर्षमै ३० बर्षपछि डाँका चोरी मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको उदाहरण पनि छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले जिल्ला अदालत बाँकेबाट ५ बर्ष ११ महिना ४ दिन कैद र ५ हजार २ सय ८६ जरिवाना तोकिएका राप्तीसोनारी गाउँपालिका ७ फत्तेपुर बस्ने नन्कौ मल्लाहलाई पक्राउ गरेको जानकारी दिएका छन् । जिल्ला अदालत बाँकेले मल्लाहलाई २०५१ चैत्र ८ गते सजाय सुनाएको थियो ।
त्यस्तै, जेनजी आन्दोलनका क्रममा नौबस्ता कारागारबाट लागुऔषध मुद्दामा ६ बर्ष कैद तोकिएका नेपालगन्ज वडा नं. ३ का अब्दुल सलिम हलवाई फारार भएका थिए । उनलाई पनि पक्राउ गरि कारागारमा बुझाएको बाँके प्रहरी प्रवक्ता पातलीले जानकारी दिएका छन् ।
बाँकेमा अदालतबाट सजाय तोकिएका र प्रहरीमा मुद्दा भएका फरार खोज्न छुट्टै टोली नै गठन गरिएको छ । जेनजीको आन्दोलनको क्रममा हजारौं कैदीबन्दी फरार भएपछि उनीहरूलाई खोजेर कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय रहेको छ ।
प्रहरीले त्यस्ता फरार फेला पर्न सक्ने अवस्थालाई मध्यनजर आफ्ना सूचनाका स्रोत परिचालन गरेको हुन्छ । बाँके भारतसँगको सीमावर्ती जिल्ला भएकाले यहाँ अपराध गरेर भारत जाने, यो ठाउँ नै छाडेर अन्य जिल्ला जानेलाई पनि नेपाल प्रहरीले पक्राउ गरिरहेको छ ।
‘अदालतबाट सजाय तोकिएका, मुद्दा चलेर फरार रहेकाहरूबाट समाजले असुरक्षित महसुस गर्छ भने अपराधीहरूको समेत मनोबल बढ्न सक्छ, त्यसैले फरार अपराधी खोज्नलाई विशेष जोड दिइरहेका हौं’, प्रहरी अधिकारी भन्छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१÷०८२ मा फरार अपराधी पक्राउ गर्ने कार्यमा उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, गत आर्थिक वर्षमा मात्रै बाँकेमा ६ सय ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरूबाट १ सय ८९ वर्ष आठ महिना एक दिन कैद र दुई करोड १८ लाख ३५ हजार ६३२ रुपियाँ जरिवाना असुल उपर हुने प्रहरीको तथ्यांक रहेको छ ।
चालु आ.व.को मंसिरमा मात्रै फैसला कार्यान्वयन तर्फ ४७ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता पातलीले जानकारी दिएका छन् । उनका अनुसार, मंसिर महिनामा ३४ बर्ष ८ महिना १६ दिन कैद र ४० लाख ३५ हजार ३ सय ८८ बिगो तथा क्षतिपूर्ति भुक्तानीका लागि उनीहरूलाई पक्राउ गरिएको हो ।






























