प्रविधिको प्रयोग बढ्दै जाँदा मिथ्यापूर्ण सूचनाको ओइरो सामाजिक सञ्जालमा देखिने गरेकाले त्यसबाट पत्रकारहरू सजग हुनुपर्ने आवश्यकता औंल्याइएको छ । प्रेस चौतारी नेपाल बाँकेको २८ औं स्थापना दिवसको अवसरमा शुक्रबार प्रेस चौतारी नेपाल बाँकेले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरूले मिथ्यापूर्ण, भ्रम फैलाउने खालका सूचनाहरू सामाजिक सञ्जालमा बढिरहेकाले तथ्य जाँच नगरी सूचना प्रति विश्वस्त हुन नहुने बताएका थिए ।
आगामी फागुन २१ गते हुने निर्वाचन हुन गैरहेकाले सामाजिक सञ्जालमा बढिरहेको पत्रकारहरूले सही र सत्य सूचना आम नागरिकसम्म पुर्याउन आवश्यक रहेको कार्यक्रमका सहभागीहरूले बताएका थिए ।
प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेलले भ्रमपूर्ण सूचना फैलाउन डिजिटल प्रविधिको प्रयोग हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । ‘घृणा फैलाउने, फेक समाचार तथा फेक सूचनाहरू सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ’, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष डोटेलले भने, ‘त्यसैले सत्य सूचना नागरिकसम्म पुर्याउन पत्रकारहरूको जिम्मेवारी अहिले अझ बढेको छ ।’
वरिष्ठ पत्रकार डोटेलले पत्रकार पनि आचारसंहितको दायरा भित्र रहेकाले त्यसलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेका थिए ।
प्रेस चौतारी बाँकेका संस्थापक मो. हारुन हलवाईले प्रविधिले दुरूपयोग बढिरहेको प्रति चिन्ता व्यक्त गरे । मो. हारुनले भ्रम छर्नेहरू बढिरहेकाले सत्य सूचना छिटो र छरितो ढंगले आम नागरिकसम्म पुरउन चौतारी सम्बद्ध पत्रकारहरू लाग्नुपर्ने बताएका थिए ।
प्रेस चौतारीका लुम्बिनी प्रदेश सहइन्चार्ज भेषराज बस्नेत, केन्द्रीय सदस्यद्वय विष्णु वेल्वासे, मो. सकिल कादरीले संगठनमा आबद्ध पत्रकारहरूलाई सही र सत्य सूचना प्रवाह गरी समाजमा फैलाइने भ्रमपूर्ण सूचनालाई चिर्न आवश्यक रहेको बताएका थिए ।
प्रेस चौतारी बाँकेका सचिव देबेन्द्रराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य सुर्य ढकाल, एमाले बाँकेका इन्चार्ज शान्ति ढकाल, एमाले बाँके अध्यक्ष निरक गुरुङ्ग, प्रवक्ता निर्मला सुनार, प्रेस चौतारीका पूर्व अध्यक्ष रुद्र सुवेदी, हेमन्त विक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।






























