उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने उल्लेख छ ।
आयोगले यसपटक उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको थियो । त्यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था यसपटक गरिएको थियो । आयोगले यसपटक क्षेत्र अनुसार निर्वाचनमा खर्च गर्न सक्ने रकम समेत तोकेको थियो ।
प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना सकिएको छ । समानुपातिकबाट सांसद पदका लागि केही समय लाग्ने भएपनि प्रत्यक्ष तर्फको परिणाम आइसकेको छ ।
यसपटक निर्वाचन परिणाम घोषणा भैसकेपछि उम्मेदवारहरूले आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाउने मात्रै नभई सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक गर्न थालेका छन् ।
यसअघिका निर्वाचनमा आयोगमा समयसीमा भित्र खर्च नबुझाउने, बुझाएपनि सार्वजनिक नगर्ने प्रवृत्ति थियो ।
वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा भाग लिएका १ लाख २३ हजार ६ सय उम्मेदवारले आयोगले तोकेको समयसीमामा खर्च विवरण नबुझाएपछि आयोगले जरिवाना गरेको थियो । कानुन बमोजिम छ बर्षसम्म उम्मेदवार हुन नपाउने भएपछि कतिपयले स्थानीय तहको निर्वाचन खर्च जरिवाना सहित बुझाएका थिए । वि.सं. २०७९ को बैशाखमा भएको स्थानीय तह निर्वाचनमा खर्च नबुझाउनेको जरिवाना रकम तत्कालीन राष्ट्रपति सोही बर्षको फागुन ४ गतेको मन्त्रीपरिषद्को निर्णय बमोजिम फागुन ५ गते माफी मिनाह गरेकी थिइन् ।
गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको परिणाम घोषणा भएको ३५ दिन भित्र उम्मेदवारले निर्वाचन खर्च बुझाउनु पर्ने नियम अनुसार आयोगमा खर्च विवरण कसरी बुझाउने भन्ने चासो आयोगमा राखिरहेको पाइन्छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेक बहादुर शाहीले उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च आयोगमा बुझाउन सुरु गरेको जानकारी दिएका छन् । ‘५÷७ जनाले खर्च विवरण बुझाइसक्नु भएको छ’, उनले भने ।
बाँके क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार दिपेन्द्र विष्टले निर्वाचनका क्रममा विभिन्न १० शिर्षकमा १७ लाख २९ हजार ६ सय रूपमा खर्च गरेको विवरण बुधबार आयोगमा बुझाएका छन् ।
त्यस्तै, बाँके क्षेत्र नं. ३ का उम्मेदवार खगेन्द्र सुनारले पनि बुधबार खर्च विवरण प्रतिनिधि मार्फत आयोगमा बुझाएका छन् । उनले निर्वाचनका क्रममा ७ लाख १० हजार खर्च भएको विवरण आयोगमा बुझाएका हुन् ।
बाँके क्षेत्र नं. २ मा राष्ट्रिय जनमोर्चा उम्मेदवार जगदीश ढकालले ५० हजार ५ सय खर्च भएको विवरण आयोगलाई बुधबार बुझाएका छन् ।






























