त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जले पूर्णकालीन रूपमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले अन्य शैक्षिक संस्था वा कार्यालयमा समेत काम गरेको पाइए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
क्याम्पस प्रशासनले सार्वजनिक सूचना जारी गर्दै क्याम्पसमा तोकिएको कार्यसमयमा उपस्थित नहुने, अन्यत्र पनि सेवा दिने तथा दोहोरो सुविधा लिने कार्य पदीय आचारसंहिता विपरीत भएको स्पष्ट गरेको छ । पछिल्लो समय यस्ता गुनासो विभिन्न माध्यमबाट प्राप्त भएपछि प्रशासनले निगरानी कडा बनाएको हो ।
क्याम्पस प्रमुख डा. लालमणि आचार्यको हस्ताक्षरमा जारी सूचनामा यस्ता गतिविधि भ्रष्टाचारजन्य प्रकृतिका हुने उल्लेख गर्दै तत्काल रोक लगाइने चेतावनी दिइएको छ । साथै, नियम विपरीत कार्य गरेको प्रमाणित भए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने पनि स्पष्ट गरिएको छ ।
क्याम्पसले यसबारे सूचना वा उजुरी दिन सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गर्दै प्रमाणसहित जानकारी उपलब्ध गराउन अनुरोध गरेको छ । उजुरीका लागि क्याम्पस प्रमुख डा. आचार्य तथा सूचना अधिकारी किरणराज रेग्मीलाई सम्पर्क गर्न सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
शैक्षिक संस्थामा अनुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्ने उद्देश्यसहित गरिएको यो कदमलाई महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनिक सुधारतर्फको महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।
‘पछिल्ला दिनहरूमा सार्वजनिक संस्थामा दोहोरो सेवा र सुविधा लिने प्रवृत्तिबारे प्रश्न उठिरहेका बेला क्याम्पसको यो निर्णयलाई अर्थपूर्ण मानिएको छ,’ सरकारका पछिल्ला कदमलाई पछ््याउँदै निर्देशन आएको औल्याउँदै एक सह– प्राध्यापकले दैनिक नेपालगन्जसँग भने, ‘धेरैलाई यसले नैतिकताको कसिमा उभ्याएको छ ।’ कतिपयले यसअघिनै बाहिरका जिम्मेवारी त्याग गरिसकेपछि यो निर्देशन आएकाले अवस्था सुधारको अपेक्षा गरिएको बताएका छन् ।





























