नेपालगन्जमा पहिलो पटक जिल्ला स्तरीय ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिने भएको छ ।
जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिन आयोजक भृकुटी तेक्वान्दो दोजाङले आइतबार पत्रकार सम्मेलन ‘प्रथम नेपालगन्ज जिल्ला स्तरीय पुम्से तेक्वान्दो प्रतियोगिता २०८३’ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।
प्रतियोगिता संयोजक उमा थापा मगरले विभिन्न विधाका प्रतिस्पर्धामा अनुमानित १ सय ५० बढी खेलाडी प्रतिस्पर्धामा भाग लिने जानकारी दिइन् ।
आगामी बैशाख २६ गते नेपालगन्ज रंगशालामा आयोजना हुने प्रतियोगिताले बाँकेमा आधारभूत तेक्वान्दोको जग बलियो बनाउन सहयोग पुर्याउने विश्वास उनको छ ।
‘प्रतियोगिता आयोजनाका लागि सरकारकै मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न यो प्रतियोगिता स्थानीय स्तरबाटै पहल लिइएको हो’, पत्रकार सम्मेलनमा बोल्दै भृकुटी तेक्वान्दो दोजाङका सल्लाहकार चन्दप्रकाश श्रेष्ठले भने, ‘यसले तेक्वान्दोका क्षेत्रमा फैलाइएका भ्रम पनि चिर्न सहयोग पुर्याउँछ ।’
दोजाङ प्रशिक्षक समेत रहेका श्रेष्ठले आत्मरक्षाका लागि निकै महत्वपूर्ण मानिएको मार्सल आर्टलाई सही ढंगले प्रचारप्रसार गर्न नसकिंदा समाजमा भ्रम फैलिएको टिप्पणी गर्दै भने, ‘नियमित प्रशिक्षण र प्रतियोगिताले देशविदेश पुगेर आफ्ना क्षमता प्रदर्शन गर्ने अवसरको सिर्जना गर्न सकिन्छ ।’
तेक्वान्दो प्रशिक्षक श्रेष्ठले प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनेगरी गतिलो सुरुवातका रूपमा अगाडि बढाउन खोजिएको बताएका छन् ।
आयोजकका अनुसार, १४ बर्षमूनिका महिला तथा पुरुष, १४ बर्ष माथिका महिला तथा पुरुष प्रतिस्पर्धी बीच सिंगल र पियर गरी २० वटा दोजाङबाट १ सय ५० बढी खेलाडी सहभागी हुने छन् ।



























