नेपाल–भारत सीमावर्ती सुरक्षा अधिकारीहरूबीच प्रत्येक तीन महिनामा आयोजना हुने नियमित बैठक मंगलवार सीमास्थित आईसीपी (एकीकृत जाँच चौकी) चेकपोस्टमा आयोजना भएको छ ।
भारतीय पत्रकार सन्तोष शुक्लका अनुसार, बैठकमा भारततर्फका सुरक्षा अधिकारी तथा सीमा सशस्त्र बलका डीआईजी र नेपालतर्फबाट सशस्त्र प्रहरी बल एपीएफका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।
एसएसबीका महानिरीक्षक वी. विक्रमण तथा नेपालतर्फबाट सशस्त्र प्रहरी बल (एपीएफ), नायब महानिरीक्षक दीपेन्द्र कुंवरको नेतृत्वमा भएको बैठकका क्रममा भारत–नेपाल सीमाक्षेत्रको वर्तमान सुरक्षा अवस्थाको विस्तृत समीक्षा गरिएको बताइएको छ । साथै, सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न पक्षहरूमा गम्भीर छलफल भएको जनाइएको छ ।
बैठकमा सीमावर्ती क्षेत्रमा हुने सुरक्षा व्यवस्थापन, आवागमन (पारगमन), व्यापारिक गतिविधि, वन संरक्षण तथा अन्य सहजीकरणसँग सम्बन्धित विषयहरूमा विस्तृत छलफल गरिएको जनाइएको छ । दुवै देशका अधिकारीहरूबीच मित्रतापूर्ण वातावरणमा बैठक सम्पन्न भएको र आपसी समझदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
यस बैठकको मुख्य उद्देश्य ‘नेपाल–भारत मित्रता र सहकार्यलाई सुदृढ बनाउनु रहेको’ बताइएको छ । यसले दुई देशबीच ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँदै पारस्परिक विश्वास अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
बैठकमा नेपालतर्फको नेतृत्व गरेका एपीएफका डिआइजी दीपेन्द्र कुंवरले आफ्नो वक्तव्यमा दुई देशबीच स्थापित विश्वास र सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले सीमा व्यवस्थापन क्षेत्रमा संयुक्त प्रयासलाई अझ तीव्र बनाउनु आवश्यक रहेको उल्लेख गरेको प्रेस नोटमा भनिएको छ ।
त्यस्तै, भारततर्फका उप–महानिरीक्षक वी. विक्रमणले आफ्नो मन्तव्यमा भारत–नेपालबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै सीमा व्यवस्थापनलाई सहकार्यपूर्ण तथा संवेदनशील दृष्टिकोणबाट सञ्चालन गर्नुपर्ने बताए । उनले सम्बन्धित सबै निकायहरूबीच अझ राम्रो समन्वय, पारदर्शिता र विश्वास सुदृढ बनाउनुपर्नेमा जोड दिएको प्रेस नोटमार्फत जनाइएको छ ।
बैठकपश्चात् दुवै देशका अधिकारीहरूले नेपाल–भारत सीमामा अवस्थित नेपालगन्ज रोड रेलवे स्टेशनको अवलोकन समेत गरेका थिए । सो क्रममा भविष्यमा सञ्चालन गरिने योजना, पूर्वाधार विकास तथा सेवा विस्तारका सम्भावनाबारे पनि छलफल गरिएको बताइएको छ ।





























