लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालबालिकाको अधिकार सुरक्षित गर्न सरकार मात्रै पर्याप्त नहुने बताएका छन् । उनले बालमैत्री समाज निर्माणका लागि नागरिक समाज, अभिभावक, सञ्चारमाध्यम, समुदाय र सरोकारवाला सबै पक्षबीच साझा प्रतिबद्धता र सक्रिय सहकार्य आवश्यक रहेको बताएका हुन् ।
नेपालगन्जमा आयोजित ‘बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम’ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले ‘बालअधिकार संरक्षण कागजमा मात्रै सीमित हुनुहुँदैन । व्यवहारमा कार्यान्वयन हुनुपर्छ’ भने ।
उनले बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न स्थानीय तहदेखि प्रदेशस्तरसम्मको समन्वय प्रणाली बलियो बनाउनुपर्नेमा जोड दिए । अनुगमन र निगरानी संयन्त्रलाई थप प्रभावकारी बनाउन नसके बालअधिकारका धेरै सवाल व्यवहारमै कमजोर हुने उनको भनाइ थियो ।
मन्त्री तिमिल्सिनाले बालविवाह, हिंसा, शोषण र दुव्र्यवहार अझै पनि समाजका चुनौतीपूर्ण विषयका रूपमा रहेको उल्लेख गरे । उनले ‘बालबालिकामाथि हुने हिंसा र विभेद अन्त्य गर्न सबै पक्ष एकजुट हुनुपर्छ । यो सरकार वा कुनै एक संस्थाले मात्रै सम्भव हुने विषय होइन’ भने ।
कार्यक्रममा सहभागी नागरिक समाजका प्रतिनिधि, बालअधिकारकर्मी तथा सरोकारवालाले पनि बालअधिकार संरक्षणका क्षेत्रमा अझै धेरै चुनौती रहेको बताएका थिए । उनीहरूले स्थानीय तहमा बालअधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारी अनुगमन अभाव, बालमैत्री संरचनाको कमजोरी तथा सचेतनाको कमीबारे धारणा राखेका थिए ।
तालिममा बालअधिकार संरक्षणका अवसर, चुनौती तथा प्रभावकारी अनुगमन प्रणालीका विषयमा विस्तृत छलफल भएको आयोजकले जनाएको छ । तालिममार्फत बालअधिकारसम्बन्धी कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउने, नागरिक समाजको भूमिकालाई थप सशक्त बनाउने तथा सरोकारवालाबीच समन्वय बढाउने अपेक्षा गरिएको जनाइएको छ ।
कार्यक्रम पिस नेपाल कपिलवस्तु र बालअधिकारका लागि नागरिक सञ्जाल लुम्बिनी प्रदेशको आयोजनामा भएको हो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी, बालअधिकारका लागि नागरिक सञ्जालका संयोजक शालिग्राम पाण्डेलगायतले प्रदेशमा बालअधिकारको अवस्था, चुनौती र नागरिक समाजको भूमिकाबारे धारणा राखेका थिए ।
पिस नेपालका अध्यक्ष मणिप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट नागरिक सञ्जालका अगुवा, बाल सञ्जालका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।






























