सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले बाँकेमा संगठन बिस्तार कार्यलाई तिव्रता दिएको छ । पार्टी केन्द्रीय कार्यक्रम अनुसार वडा अधिवेशनदेखि प्रदेश हुँदै जिल्ला अधिवेशन अभियानमा लागेको लागेको रास्वपाले त्यसक्रममा सदस्यता वृद्धिसँगै सांगठनिक गतिविधिलाई तिव्रता दिएको हो ।
त्यसक्रममा रास्वपा महामन्त्री भुपदेव शाह सोमबार नेपालगन्ज आइपुगेका छन् । रास्वपाका केन्द्रीय पूर्वाधार विकास अनुगमन विभागका सदस्य आतंक बस्नेतका अनुसार, पार्टी अभियानका क्रममा नेपालगन्ज आइपुगेका महामन्त्री पार्टी प्रवेश गरेका विभिन्न व्यक्तिहरूलाई स्वागत, सम्मान गरेका छन् ।
त्यसक्रममा राप्रपा केन्द्रीय सदस्य नन्दलाल वैश्यले विभिन्न आफ्ना पार्टी सदस्यहरू सहित रास्वपा प्रवेश घोषणा गरे । उनलाई महामन्त्री शाहले पार्टी सदस्यता प्रदान गर्दै रास्वपामा स्वागत गरेका छन् ।
त्यस्तै, नेकपाका पुराना नेता जगदीश बहादुर सिंह लगायतको अर्को समूह पनि सोमबार नै रास्वपा प्रवेश गरेको छ । नवप्रवेशीहरूलाई रास्वपा नेतृ लक्ष्मी तिवारी, प्रदेश महामन्त्री निलराज अधिकारी, जिल्ला अध्यक्ष हरिपाल सिंह केसी लगायतले पार्टी संगठनमा स्वागत गरेका थिए । रास्वपाको वडा अधिवेशन तथा प्रदेश अधिवेश भैरहँदा जेठ २३ गते जिल्ला अधिवेशन तय गरिएको रास्वपा नगर अध्यक्ष नविन खड्काले जानकारी दिए ।






























