अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा चालु आर्थिक बर्ष २०८२÷०८३ मा २६ हजार बढी उजुरी दर्ता भएका छन् । अख्तियारले सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभर चालु आर्थिक बर्षको ११ महिनामा २६ हजार ३ सय ७४ वटा उजुरी दर्ता भएका छन् ।
चालु आर्थिक बर्षको जेठ महिनामा सबैभन्दा बढी उजुरी दर्ता भएका छन् । जेठ महिनामा ३ हजार ९ सय १३ वटा उजुरी दर्ता भएका हुन् ।
त्यस्तै, गत बैशाखमा ३ हजार ५ सय २२, चैत्रमा ३ हजार १ सय ९०, फागुनमा १ हजार ३ सय ४५, माघमा २ हजार १ सय २८ वटा भ्रष्टाचार सम्बन्धी उजुरी दर्ता भएका हुन् । गत पुस महिनामा २ हजार ६ सय ७६, मंसिरमा २ हजार ६ सय २९, कार्तिकमा १ हजार ९ सय ४५, असोजमा २ हजार २, भाद्रमा २ हजार २ सय ७६ र साउन महिनामा ७ सय ४८ उजुरी दर्ता भएको अख्तियारको तथ्यांक रहेको छ ।
अख्तियार दुरूपयोग आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आ.व.को हालसम्म ३ सय ७२ उजुरी दर्ता भएका छन् । चार वटा जिल्लाको जिम्मेवारी बहन गर्दै आएको सम्पर्क कार्यालयमा जेठ महिनामा ५४, वैशाखमा ४३, चैत्रमा ३५, फागुनमा २४, माघमा २६, पुसमा ३५, मंसिरमा ३५, कार्तिकमा २१, असोजमा २५, भाद्रमा ५०, साउनमा २४ उजुरी दर्ता भएका छन् ।




























