प्रसिद्ध धार्मिक शक्तिपीठ, बागेश्वरी मन्दिरस्थित जुंगे महादेवका नाममा स्थापित, जुमा स्पोट्र्स क्लबको आठौँ स्थापना दिवस विहीवार मनाइएको छ ।
वार्षिकोत्सवका अवसरमा व्यवसायी र पत्रकारबीच आयोजना गरिएको मैत्रीपूर्ण फुटसल प्रतियोगिता ४–४ गोलको रोमाञ्चक बराबरीमा टुंगिएको छ । न्यूरोडस्थित नेपालगन्ज फुटसलमा भएको प्रतिस्पर्धामा दुवै टोलीले आक्रामक खेल प्रदर्शन गर्दै बराबरी नतिजा निकालेका हुन् ।
पत्रकार टोलीका लागि कुमार श्रेष्ठले २ गोल गरे । समिरमान श्रेष्ठ र कमल खत्रीले समान १–१ गोल थपे। व्यवसायी टोलीबाट खिम अधिकारी, कौशल आचार्य, भाष्कर काफ्ले र सन्तोष बजगाईले समान १–१ गोल गर्दै टोलीलाई बराबरीमा पु¥याए ।
पत्रकार टोलीमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पूर्व अध्यक्ष झलक गैरे, नरेन्द्र थापा, शरण कर्माचार्य, अर्जुन वली, भगतराम थारु, समीर शाहीलगायत सहभागी थिए । आयोजक टोलीमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, कृष्णप्रसाद श्रेष्ठ, भीम रानाभाट, श्यामसुन्दर अधिकारी, सञ्जय अग्रवाल, अधिवक्ता विकास आचार्यलगायतको सहभागिता रहेको थियो ।
प्रतियोगिता सुरु हुनुअघि क्लबले आफ्नो आठौँ स्थापना दिवसको अवसरमा केक काटेर स्थापना दिवस मनाएको थियो । आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष भीम रानाभाटले स्थापना कालको स्मरण गर्दै खेलकुदसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि क्लबले निरन्तरता दिँदै आएको बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले रेफ्री केशव रानालाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
क्लबका अध्यक्ष डा. उदय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जुमा स्पोट्र्स क्लबले विसं २०७५ देखि व्यवसायीहरूलाई खेलकुदसँग जोड्दै सामाजिक गतिविधिलाई पनि निरन्तर अघि बढाउँदै आएको जनाएको छ ।






























