बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा शनिबार भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगापना जिल्ला घोषणा गरेका हुन् ।
कार्यक्रमा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार जिल्लाका ८ वटै स्थानीय तहमा १६ देखि २३ महिनासम्मका ११ हजार ५६४ बालबालिकाको घरधुरी सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा १० हजार ७ सय ९९ (९४ प्रतिशत) बालबालिकाले पूर्ण खोप प्राप्त गरेको पाइएको थियो भने बाँकी ७ सय ६५ बालबालिकामध्ये १८ जना शुन्य डोज र ७ सय ४७ जना ड्रपआउट रहेका थिए । ती सबै बालबालिकालाई खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोपको दायरामा ल्याइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
प्रतिवेदनमा आर्थिक वर्ष २०८२÷८३ मा स्वास्थ्य कार्यालय तथा स्थानीय तहले नियमित खोप सुटद्दढीकरण, वडा खोप समन्वय समिति परिचालन, घरधुरी सर्वेक्षण, खोज तथा खोप अभियान, अनुगमन, सुपरिवेक्षण र समुदायमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको उल्लेख गरिएको छ । जिल्ला तथा स्थानीय तहका खोप समन्वय समितिहरूको सक्रियता, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, विकास साझेदार संस्था र समुदायको उत्कृष्ट प्रयासबाट यो उपलब्धि हासिल भएको प्रतिवेदनमा जनाइएको छ ।
जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समितिका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय केन्द्रित एचपीभी खोप अभियानको उपलब्धिका बारेमा समेत जानकारी दिइएको थियो । अभियान अन्तर्गत लक्षित उमेर समुहका किशोरीहरूलाई खोप प्रदान गरी पाठेघरको मुखको क्यान्सबाट बचाउने उद्देश्यका साथ प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । यसले किशोरीहरूको स्वास्थ्य संरक्षण तथा भविष्यमा क्यान्सरको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा समेत गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री घिमिरेले पूर्ण खोप सुनिश्चितता घोषणा अन्तिम लक्ष्य नभई यसको दिगोपना कायम राख्नु अझ ठुलो जिम्मेवारी भएको बताए । मन्त्री घिमिरेले जिल्लामा जन्मिने प्रत्येक बालबालिकाले समयमै राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्य संस्था, जनप्रतिनिधि तथा समुदायले निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरू,जिल्ला समन्वय समिति,नेपालगंज उपमहानगरपालिका, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख ,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विकास साझेदार संस्था, पत्रकार तथा सरोकारलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यस अवसरमा उत्कृष्ट योगदान पुर्याउने महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,खोप कार्यकर्ता,खोप फोकल पर्सन,स्वास्थ्य शाखा प्रमुख तथा अन्य स्वास्थ्यकर्मीहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको थियो । साथै, जिल्लाले प्रदेश सरकारबाट पुर्ण खोप सुनिश्चिता तथा दिगोपनाको प्रमाणपत्र समेत प्राप्त गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत देव नारायण उपाध्यायले सहजीकरण गरेको कार्यक्रमको समापनमा जिल्ला खोप समन्वय समितिका संयोजक चौधरीले पुर्ण खोप सुनिश्चितताको अवस्थालाई आगामी दिनमा पनि दिगो रूपमा कायम राख्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्न सबै पक्षले साझा प्रतिबद्धता सहित अघि बढ्ने विश्वास व्यक्त गरे ।





























