पर्यटनको समग्र विकासका लागि सरोकारावालाहरू बीचको साझेदारी आवश्यक भएको औंल्याइएको छ । आइतबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारावालाहरूले पर्यटनको व्यवसायिक विकासका लागि एक्लाएक्लै नभई साझेदारी अवधारणामा अगाडि बढ्नुपर्ने औंल्याएका हुन् ।
बाँके, बर्दिया, बाजुरा लगायतका विभिन्न जिल्लाका टुर अपरेटरहरूको क्षमता अभिवृद्धिका लागि नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्स् (नाट्टा) बाँके च्याप्टरले नेपाल पर्यटन बोर्डसँगको साझेदारीमा आयोजना गरेको तीन दिने तालिम समापन कार्यक्रमका वक्ताहरूले पश्चिम क्षेत्र पर्यटनका लागि निकै उर्बर रहेको बताए ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्ली राज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्ध एयरका सिनियर म्यानेजर राजिव शर्माले पर्यटन क्षेत्रलाई समयानुकुल स्तरोन्नती गर्दै टुर अपरेटरहरूले प्रविधिमैत्री बनाउँदै जान सुझाव दिए । ‘अब तपाईहरू टिकट बिक्रीमा मात्रै सीमित नभई नयाँ प्रविधि र एपिआई प्रणालीको प्रयोग मार्फत व्यवसायिक विकासमा अघि बढ्न आवश्यक छ’, टुर अपरेटरहरूसँग लक्षित गर्दै शर्माले भने ।
कार्यक्रममा नाट्टा बाँकेका संस्थापक श्रीराम सिग्देल, हान बाँकेका अध्यक्ष दिवाकर खनाल, आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत उदयराम केसी, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेल लगायतले पर्यटन क्षेत्रका विभिन्न पक्षहरूबारे आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा तीन दिनसम्म तालिममा सहभागी प्रशिक्षार्थी मोनिका पन्तले आफुलाई तालिमले आधुनिक प्रविधिसँग जोड्ने नयाँ ज्ञान प्रदान गरेको प्रतिक्रिया दिइन् । ‘पर्यटन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न तालिम हाम्रा लागि महत्वपूर्ण साबित भएको छ’, पन्तले आफ्नो प्रतिक्रिया दिंदै भनिन्, ‘एआईको प्रयोग मार्फत आकर्षक टुर प्याकेज तयार गर्ने, पोष्टर डिजाइन गर्ने, भिडियो सामाग्री निर्माण गरेर डिजिटल मार्फत पर्यटन प्रवद्र्धनको व्यवसायिक सिप हासिल भएको छ ।’ नाट्टा बाँकेका महासचिव भागिराम ओलीले तालिममा ३५ जना सहभागी रहेको बताए ।































