नेपालगन्जलाई अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता स्थलका रूपमा स्थापित गर्न नेपालगन्ज स्विमिङ क्लबले रणनीतिक योजना अघि सारेको छ । क्लबका अध्यक्ष केशव न्यौपानेको अध्यक्षतामा आइतबार बसेको वार्षिक योजना निर्माण बैठकले यस क्षेत्रमा पौडी खेलको विकास र प्रवद्र्धनका लागि महत्त्वपूर्ण कार्ययोजनाहरू तय गरेको हो ।
बैठकमा अन्तर्राष्ट्रिय स्तरको पौडी प्रतियोगिता आयोजना गर्ने, सुरक्षाका लागि लाइफ गार्ड तालिम सञ्चालन गर्ने र तल्लो तहदेखि नै प्रतिभा पहिचान गर्न स्कुल स्तरका खेलाडी खोजी गर्ने जस्ता विविध विषयमा क्लब सल्लाहकार सहित सरोकारवालाहरूबीच गहन छलफल भएको थियो ।
नेपालगन्जलाई पौडी खेलको हब बनाउन र यहाँको पूर्वाधारलाई विश्वस्तरमा चिनाउन अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखिएको छ । ‘त्यसको औपचारिक तयारी थाल्ने निर्णय भएको छ,’ क्लबका वरिष्ठ उपाध्यक्ष सुर्यमणि अधिकारीले दैनिक नेपालगन्जसँग भने । क्लबले पौडी पोखरी तथा प्राकृतिक जलाशयहरूमा हुन सक्ने दुर्घटना न्यूनीकरण र सुरक्षा सुदृढ गर्न विशेष लाइफ गार्ड तालिम सञ्चालन गर्ने योजना पनि बनाएको छ । विद्यालय स्तरबाटै नयाँ तथा प्रतिभावान पौडी खेलाडीहरूको पहिचान गरी उनीहरूलाई विशेष प्रशिक्षणको व्यवस्था गरिने क्लबले जनाएको छ ।
क्लबका वरिष्ठ उपाध्यक्ष अधिकारीका अनुसार, यस वार्षिक योजनाले नेपालगन्जको खेलकुद पर्यटनमा नयाँ आयाम थप्ने र स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्न मद्दत गर्ने विश्वास लिइएको छ ।
आइतबार सल्लाहकार सम्मिलित योजना तर्जुमा बैठकले पौडीको व्यवसायिक विकासका लागि विभिन्न निर्णयहरु गरेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताए ।






























