सन्ध्या गैरे
बालअधिकारलाई केन्द्रमा राखेर जिम्मेवार, नैतिक र बालमैत्री पत्रकारिताको अभ्यासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित लुम्बिनी प्रदेश राजधानी देउखुरीको भालुभाङमा दुईदिने बालमैत्री तथा बालकेन्द्रित पत्रकारिता कार्यशाला आयोजना भएको छ ।
बालअधिकारका क्षेत्रमा क्रियाशील पत्रकारहरूको क्षमता अभिवृद्धि गर्दै समाचार सम्प्रेषणमा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्ने अभ्यास विकास गर्ने लक्ष्यका साथ कार्यशाला सञ्चालन गरिएको हो ।
कार्यशालाको आयोजना पिस नेपाल, बालअधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल (सिजप) लुम्बिनी प्रदेश र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको समन्वय तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा आयोजित भइरहेको हो ।
कार्यशालामा बालअधिकारसम्बन्धी कानुनी व्यवस्था, बालमैत्री समाचार लेखन, बाल संरक्षणका मापदण्ड, बालबालिकासँग सम्बन्धित विषयमा संवेदनशील तथा जिम्मेवार पत्रकारिताको अभ्यास र सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत छलफल भइरहेको छ ।
कार्यशालाको पहिलो दिन, आइतवार लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । आयोजकका अनुसार, दोस्रो दिन बालमैत्री समाचार लेखन, व्यवहारिक अभ्यास, अनुभव आदानप्रदान तथा सहभागी पत्रकारहरूको समूहगत प्रस्तुतीकरण गरिनेछ । कार्यशालाबाट पत्रकारहरूमा बालअधिकारप्रति थप संवेदनशीलता विकास हुनुका साथै बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर अधिकारमैत्री पत्रकारिता प्रवद्र्धनमा योगदान पुग्ने विश्वास लिइएको छ ।
पहिलो प्राविधिक सत्रमा पिस नेपालका विजय अधिकारीले ‘बालअधिकारको अवधारणा र कानुनी व्यवस्था’ विषयमा सहजीकरण गरे । उनले बालअधिकारको अर्थ, यसको महत्व, नेपालको संविधान तथा बालबालिकासम्बन्धी ऐनले सुनिश्चित गरेका अधिकार, बाल संरक्षणका कानुनी आधार, सरोकारवाला निकायको जिम्मेवारी र सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत प्रस्तुतीकरण दिए ।
उनले पत्रकारहरूलाई बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा विशेष सावधानी अपनाउन आग्रह गरे । उनले भने, ‘बालबालिकासँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा उनीहरूको सर्वोत्तम हित, गोपनीयता, सम्मान र अधिकारलाई प्राथमिकतामा राख्नुपर्छ । पत्रकारिताले बालमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।’
दोस्रो सत्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाईंले ‘बालबालिकाका विविध आयाम र पत्रकारिताका विविध आयाम’ विषयमा प्रस्तुतीकरण गरे । उनले बालपत्रकारिताको अवधारणा, बालबालिकाको आवाजलाई जिम्मेवारीपूर्वक सञ्चारमाध्यममा स्थान दिने विधि, बाल सहभागितामूलक पत्रकारिता, समाचारको प्रभाव तथा बालबालिकामा पर्न सक्ने मनोसामाजिक असरबारे चर्चा गरे ।
उनले पत्रकारहरूलाई समाचार लेख्दा सनसनीभन्दा सत्य र संवेदनशीलतालाई प्राथमिकता दिन आग्रह गरे। उनले भने, ‘समाचारमा सनसनीभन्दा सत्य, संवेदनशीलता र बालअधिकारको सम्मानलाई प्राथमिकता दिनुपर्छ ।’
तेस्रो सत्रमा वरिष्ठ पत्रकार दुर्गालाल केसीले ‘बालबालिकासम्बन्धी समाचार प्रकाशनका मापदण्ड’ विषयमा सहजीकरण गरे। उनले बालबालिकाको गोपनीयता र पहिचान संरक्षण, फोटो, भिडियो तथा डिजिटल सामग्रीको जिम्मेवार प्रयोग, संवेदनशील भाषा, नैतिक पत्रकारिता, चाइल्ड सेफगार्डिङ, बाल संरक्षण, बालन्याय तथा सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत जानकारी दिए ।
केसीले बालबालिकासँग सम्बन्धित घटनाको समाचार सम्प्रेषण गर्दा उनीहरूको पहिचान खुल्ने सामग्री प्रकाशन नगर्न र पीडितलाई पुनः पीडित बनाउने शैलीबाट बच्न आग्रह गरे। उनले भने, ‘बालबालिकासँग सम्बन्धित घटनाको समाचार सम्प्रेषण गर्दा उनीहरूको पहिचान खुल्ने सामग्री प्रकाशन गर्नु हुँदैन। पीडितलाई पुनः पीडित बनाउने शैलीबाट बच्नुपर्छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय आचारसंहिताको पूर्ण पालना गर्नुपर्छ ।’
उनले लुम्बिनी प्रदेशमा बाल संवेदनशील पत्रकारिताको वर्तमान अवस्था, उपलब्ध तथ्यांक, नीतिगत व्यवस्था तथा पत्रकारहरूको उत्तरदायित्वबारे पनि चर्चा गर्दै बालअधिकार संरक्षण र सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रमको अध्यक्षता पिस नेपालका मणिप्रसाद गैरेले गरेका थिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाईं प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रमको उद्देश्यबारे गीता अर्यालले प्रकाश पारेकी थिइन् भने सञ्चालन पिस नेपालका विजय अधिकारीले गरेका थिए ।






























