नेपालगञ्ज, श्रावण १। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको आह्वानअनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने सरकारी निर्णयको विरोधमा आज शुक्रवार नेपालगञ्ज औद्योगिक क्षेत्रमा कालो झण्डा प्रदर्शनसहित विरोध कार्यक्रम गरिएको छ।
नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघको समन्वयमा आयोजित उक्त कार्यक्रममा नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी उद्योगीहरूले सञ्चालक समितिमा उद्योगीहरूको प्रतिनिधित्व हटाउने निर्णय उद्योगीहरूको हकहित, औद्योगिक विकास तथा उद्योगमैत्री वातावरणको भावनाविपरीत भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
नेपालगञ्ज औद्योगिक क्षेत्र उद्योग विकास संघका अध्यक्ष अब्दुल बाहिद अन्सारीले उद्योगीहरूको प्रत्यक्ष सहभागिताबिना औद्योगिक क्षेत्रको प्रभावकारी व्यवस्थापन सम्भव नहुने बताउँदै उद्योगीहरूको प्रतिनिधित्व पुनः सुनिश्चित गर्न सरकारसमक्ष आग्रह गर्नुभयो।
त्यसैगरी, संघका सचिव शरद प्रसाद रिजालले नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको पहिलो चरणको आन्दोलनअन्तर्गत आजको विरोध कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै महासंघले तय गरेका आगामी आन्दोलनका कार्यक्रमहरूमा नेपालगञ्ज औद्योगिक क्षेत्रका सम्पूर्ण उद्योगीहरूको ऐक्यबद्ध समर्थन रहने बताउनुभयो।
महासंघले घोषणा गरेको आन्दोलनअनुसार पहिलो चरणमा औद्योगिक क्षेत्रभित्रका उद्योगहरूमा कालो झण्डा राख्ने, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र यसका शाखा कार्यालयहरूबाट आयोजना हुने कुनै पनि कार्यक्रम, बैठक तथा औपचारिक गतिविधिमा महासंघ, संघका पदाधिकारी तथा औद्योगिक क्षेत्रका उद्योगीहरू सहभागी नहुने निर्णयसमेत कार्यान्वयन गरिने जनाएको छ।
नेपालगञ्ज औद्योगिक क्षेत्रका उद्योगीहरूले उद्योगीहरूको प्रतिनिधित्व पुनः कायम नभएसम्म महासंघले घोषणा गर्ने आगामी आन्दोलनका कार्यक्रमहरूमा समेत सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।





























