डुडुवा गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कुपोषण पहिचानदेखि उपचार, परामर्श र फलोअपसम्मका विषयमा केन्द्रित तीनदिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । गाउँपालिकाका वडा नम्बर १ देखि ६ सम्म कार्यरत ५९ जना स्वास्थ्यकर्मीले दुई चरणमा सञ्चालन गरिएको तालिममा सहभागिता जनाएका छन् ।
पोषण परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो । स्वास्थ्य कार्यालय, बाँकेको आयोजनामा भएको तालिमलाई बाँके युनेस्को क्लबले प्राविधिक सहयोग गरेको थियो । हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।
तालिममा कुपोषणको समयमै पहिचान, परीक्षण र उपचारका साथै बिरामी तथा परिवारलाई आवश्यक परामर्श दिने तरिकाबारे स्वास्थ्यकर्मीलाई अभ्यास गराइएको थियो । अभिलेखीकरण र प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउने विषयमा पनि प्रशिक्षण दिइएको थियो। स्वास्थ्य संस्था र समुदाय दुवै तहमा गुणस्तरीय पोषण सेवा पु¥याउन आवश्यक ज्ञान र सीप विकास गर्ने तालिमको उद्देश्य थियो ।
तालिममा ६ महिनाभन्दा कम उमेरका बालबालिका तथा ६ देखि ५९ महिनासम्मका बालबालिकामा देखिने कुपोषणको व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको थियो । ओटिसीमार्फत कुपोषणको उपचार तथा व्यवस्थापन, एन्थ्रोपोमेट्रिक मापन र ट्रायेज प्रक्रियाबारे सहभागीलाई जानकारी दिइएको थियो । त्यसैगरी एपेटाइट टेस्ट, परामर्श तथा सुपर केरल प्लसको प्रयोग र सेवन विधि पनि तालिमका मुख्य विषय थिए ।
कुपोषणको उपचारमा प्रयोग हुने खानाको व्यवस्थापन र त्यसको आपूर्ति प्रणालीबारे पनि सैद्धान्तिक तथा व्यावहारिक कक्षा सञ्चालन गरिएको थियो । तालिमका सत्रहरू अद्यावधिक निर्देशिका, वर्तमान मापदण्ड र प्रोटोकलका आधारमा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
स्वास्थ्यकर्मीलाई केवल सैद्धान्तिक जानकारीमा सीमित नराखी व्यावहारिक सिकाइमा जोड दिइएको थियो । प्राविधिक प्रस्तुति, समूहगत छलफल, अनुभव आदानप्रदान, अभ्यास तथा प्रदर्शनात्मक विधिबाट विभिन्न सत्र सञ्चालन गरिएको थियो ।
तालिमको उद्घाटनका क्रममा स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले नेपालमा कुपोषणको वर्तमान अवस्था र बाँके जिल्लाको अवस्थाबारे जानकारी दिइन् । उनले पोषिलो खानाको प्रयोगसँगै कुपोषणको उपचार, प्रभावकारी व्यवस्थापन र आपूर्ति प्रणालीलाई पनि व्यवस्थित बनाउनुपर्नेमा जोड दिइन् ।
पोषण फोकल पर्सन बसन्ती मल्लले तालिमबाट हासिल गर्नुपर्ने उद्देश्य र अपेक्षित उपलब्धिबारे जानकारी दिइन् । कुपोषणको समस्या समाधानका लागि यसको गहिरो विश्लेषण आवश्यक रहेको उनको भनाइ थियो। ’तथ्यमा आधारित समाधान र उपयुक्त रणनीतिक कार्यान्वयनमार्फत मात्र अपेक्षित परिणाम हासिल गर्न सकिन्छ,’ मल्लले भनिन्।
तालिमका प्रमुख सत्र हेलन केलर इन्टरनेशनलका फिल्ड अफिसर लीलबहादुर नेपाली र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक दृष्टि शाहले सहजीकरण गरेकी थिइन् । स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख पौडेल र पोषण फोकल पर्सन मल्लले पनि तालिममा आवश्यक प्राविधिक सहयोग र मार्गदर्शन दिएका थिए ।
तालिमले कुपोषण व्यवस्थापनमा काम गर्ने स्वास्थ्यकर्मीको प्राविधिक क्षमता बढाउनुका साथै सम्बन्धित सरोकारवालाबीच समन्वय र सहकार्यलाई समेत बलियो बनाएको आयोजकले जनाएको छ। समुदाय र स्वास्थ्य संस्थामा रहेका कुपोषणका केस समयमै पहिचान गर्ने, आवश्यक उपचार गर्ने, रेफर गर्ने, परामर्श दिने र फलोअप गर्ने कामलाई यसबाट थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समापन कार्यक्रममा स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले तालिममा सिकेका ज्ञान, सीप र अनुभवलाई कार्यक्षेत्रमा प्रयोग गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरिन्। तालिमबाट प्राप्त सीप व्यवहारमा लागू गरे मात्रै त्यसको उपलब्धि देखिने उनको भनाइ थियो।
तालिमको समग्र व्यवस्थापन र सहजीकरण पोषण परियोजनाका संयोजक दृष्टि शाह र मिल अफिसर अनु चौधरीको समन्वयमा गरिएको थियो। उद्घाटन समारोहको अध्यक्षता स्वास्थ्य कार्यालय, बाँकेकी प्रमुख सुनिता पौडेलले गरेकी थिइन् भने पोषण फोकल पर्सन बसन्ती मल्लले तालिमको औपचारिक उद्घाटन गरेकी थिइन्।





























