वृक्षरोपण र रक्तदान कार्यक्रम
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८८औँ जन्मोत्सवको अवसरमा बिहीबार नेपालगञ्जमा वृक्षरोपण तथा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
जन्मोत्सवका अवसरमा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन कांग्रेसका कार्यवाहक सभापति गोपाल अधिकारी र सचिव सुधांशु कोइरालाले रक्तसञ्चार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीलाई रक्तदान उपकरण हस्तान्तरण गरेर गरेका थिए।
रक्तदान कार्यक्रमअघि सुशील कोइराला पार्कमा वातावरण संरक्षणको सन्देश दिँदै वृक्षरोपणसमेत गरिएको थियो। सचिव सुधांशु कोइरालाका अनुसार जन्मोत्सवलाई सामाजिक सेवासँग जोड्दै वृक्षरोपण र रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
संविधान निर्माणका प्रमुख नायकका रूपमा स्मरण गरिने सुशील कोइरालाको सादगी, निष्ठा र आदर्श राजनीतिक जीवनलाई सम्झँदै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
रक्तदान तथा वृक्षरोपणजस्ता सामाजिक कार्यमार्फत कोइरालाको योगदान र सरल राजनीतिक जीवनलाई नयाँ पुस्तामाझ स्मरण गराउने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ।






























