भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनस्र्थापनाका लागि हेल्दी लिभिङ नेपाल प्रालिले २० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । विपत्तिमा परेका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको कम्पनीले जनाएको छ ।
हेल्दी लिभिङ नेपालका प्रबन्ध निर्देशक टेम्पा शेर्पाको नेतृत्वमा कम्पनीको प्रतिनिधिमण्डलले बुधवार उद्योग मन्त्रालय पुगेर उद्योग मन्त्री गौरी यादवलाई २० लाख रुपैयाँ बराबरको एभरेस्ट बैंकको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक शेर्पाले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा केही राहत पु¥याउने उद्देश्यले सहयोग गरिएको बताए । ‘देशमा आएको यस संकटको घडीमा सरकारलाई सानो सहयोग गर्ने उद्देश्यले बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरिएको हो,’ उनले भने ।
कम्पनीले आगामी दिनमा पनि व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने शेर्पाले प्रतिबद्धता जनाए । समाज र राष्ट्रका लागि आवश्यक सहयोग निरन्तर गर्दै जाने उनको भनाइ छ ।
चेक बुझ्दै उद्योग मन्त्री यादवले विपद्को समयमा पीडितको सहयोगका लागि अघि बढेकोमा हेल्दी लिभिङ नेपालको प्रशंसा गरिन् । उनले कम्पनीलाई धन्यवाद दिइन् ।
हेल्दी लिभिङ नेपाल प्रत्यक्ष बिक्रीमार्फत आफ्ना वस्तु उपभोक्तासम्म पु¥याउँदै आएको कम्पनी हो । व्यवसाय सञ्चालनसँगै कम्पनीले हजारौँ नेपालीलाई स्वरोजगार र आत्मनिर्भर बन्ने अवसर प्रदान गर्दै आएको छ ।
नेपालगन्ज निवासी युवा उत्प्रेरक टेम्पा शेर्पाको नेतृत्वमा रहेको हेल्दी लिभिङ नेपालले यसअघि सन् २०२० मा कोरोना महामारीका समयमा पनि विभिन्न क्षेत्रमा सहयोग गरेको थियो । सामाजिक उत्तरदायित्वलाई व्यवसायको अभिन्न हिस्साका रूपमा अघि बढाउँदै आएको कम्पनीले जनाएको छ ।






























