बाँकेको खजुरा गाउँपालिकाका समाजसेवी ऋषिराम पोखरेलको सक्रियतामा धादिङका बाढीपीडित परिवारका विद्यार्थीलाई शैक्षिक तथा खेल सामग्री सहयोग गरिएको छ । काठमाडौंमा बस्दै आएका बाँकेका नागरिक पोखरेलको पहलमा आदर्श माध्यमिक विद्यालय गजुरीमा अध्ययनरत १ सय २० जना विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।
‘बाढीबाट प्रभावित परिवारका बालबालिकालाई अध्ययनमा आवश्यक सामग्रीको अभाव नहोस् भन्ने उद्देश्यले सहयोग गरिएको हो,’ पोखरेलले दैनिक नेपालगन्जसंग भने, ‘विद्यालयमा अध्ययनरत १ सय २० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै खेलकुदका सामग्री पनि उपलब्ध गराइएको छ ।’
पोखरेलका अनुसार, विपत्तिमा परेका परिवारका विद्यार्थीलाई केही सहयोग पुगोस् भनेर उक्त सामग्री वितरण गरिएको हो । ‘बाढीपीडित परिवारका विद्यार्थीलाई अध्ययन र खेलकुदमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएका हौं,’ पोखरेलले भने ।
बाँकेको खजुरा गाउँपालिका निवासी पोखरेल लामो समयदेखि समाजसेवामा जोडिँदै आएका छन् । बाँकेमा रहँदा उनी समाजसेवा र सञ्चारकर्मसँग पनि जोडिएका थिए । अहिले काठमाडौंमा बस्दै आए पनि सामाजिक काममा उनको सक्रियता निरन्तर रहेको छ ।
खेलकुदमा रुचि राख्ने पोखरेल अधिकारका क्षेत्रमा समेत सक्रिय मानिन्छन् । सामाजिक गतिविधिसँगै खेलकुद र अधिकारका विषयमा समेत उनको संलग्नता रहँदै आएको छ ।






























