नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ११३औ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस बाँकेले नेपालगन्जमा शालिकमा माल्यार्पण गरेको छ । कांग्रेस बाँकेले बुधबार बिहान स्थानीय बीपी चोकमा कार्यक्रम आयोजना गरी कोइरालाको शालिकमा माल्यार्पण गरेको हो ।
बीपीको योगदानको स्मरण गर्दै आयोजित कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । जन्मजयन्तीको अवसरमा बाँकेसहित देशभर कांग्रेसका विभिन्न तहका समितिले कार्यक्रम आयोजना गरेका छन् ।
कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी प्रमुख अतिथि थिए । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले बीपीले नेपाली राजनीतिक र सामाजिक परिवर्तनका लागि पु¥याएको योगदानको स्मरण गरे ।
कार्यक्रममा बीपीको विचार र प्रजातन्त्र स्थापनाका लागि उनले गरेको संघर्षलाई सम्झना गरिएको थियो । कांग्रेसका लागि मात्रै नभई नेपालको प्रजातान्त्रिक आन्दोलनमै बीपीको भूमिका महत्वपूर्ण रहेको नेताहरुले स्मरण गरे ।
बीपी कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको थियो । नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि उनले लामो राजनीतिक संघर्ष गरेका थिए ।
जहानियाँ राणा शासनविरुद्धको आन्दोलनका कारण कोइराला परिवारले भारत निर्वासनमा जानुपरेको थियो। बीपीका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाउने कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरेर पठाएपछि कोइराला परिवार भारत निर्वासनमा गएको थियो ।
भारत निर्वासनका क्रममा बीपीले भारतको स्वतन्त्रता संग्राममा समेत सहभागिता जनाएका थिए । भारत स्वतन्त्र भएपछि नेपालमा पनि प्रजातन्त्र स्थापना गर्न सहज हुने उनको बुझाइ थियो । त्यसैले उनी भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए ।
भारत निर्वासनमै रहेका बेला बीपीले नेपालमा रहेको जहानियाँ राणा शासनको अन्त्यका लागि राजनीतिक संगठन निर्माणको पहल गरे । उनको नेतृत्वमा विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।
नेपालमा प्रजातन्त्र स्थापना गर्ने लक्ष्यसहित सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा नेपाल प्रजातन्त्र कांग्रेस स्थापना भएको थियो । नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता भएपछि दुवै शक्ति एउटै राजनीतिक धारमा आए । त्यसपछि विसं २००७ को क्रान्ति सफल भएको इतिहास छ ।
दुवै दलको एकीकरणपछि बनेको नेपाली कांग्रेस अहिले पनि नेपालको संसदमा दोस्रो ठूलो दलका रूपमा रहेको छ । बीपी कोइरालाको जन्मजयन्तीलाई कांग्रेसले हरेक वर्ष विभिन्न कार्यक्रम गरी स्मरण गर्दै आएको छ ।
बाँकेमा आयोजित कार्यक्रम कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले सञ्चालन गरेका थिए । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।






























