बाढीमा बेपत्ता कोहलपुर निवासी जोशी दम्पत्तिका तीन सन्तानलाई भारतीय परिवारको सहयोग
भोटेकोसी नदीमा आएको बाढीपहिरोमा परी सम्पर्कविहीन बाँकेको एक दम्पत्तिका तीन सन्तानलाई भारतका एक समाजसेवी परिवारले १ लाख रुपैयाँ सहयोग गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–१२ निवासी वीरेन्द्र जोशी र उनकी श्रीमती सत्या जोशी भदौ १० गतेदेखि सम्पर्कविहीन भएपछि उनीहरूका आश्रित परिवारलाई भारत उत्तरप्रदेशको लखिमपुर खिरीस्थित गोला गोकर्णनाथका समाजसेवी केशवराम अग्रवालले राहत उपलब्ध गराएका हुन् ।
रसुवागढी नाकामा पार्किङ व्यवस्थापनको काम गर्दै आएका वीरेन्द्र र सत्या बाढीपहिरोमा परेपछि बेपत्ता छन् । अभिभावक नै सम्पर्कविहीन भएपछि उनीहरूका तीन सन्तानको सहयोगका लागि अग्रवाल परिवार अघि सरेको हो ।
अग्रवालले आफ्ना छोरा मधुर र अमीत अग्रवालमार्फत नेपालगन्जका वरिष्ठ व्यवसायी सकिल अहमद जसगढसँग समन्वय गरी राहत रकम पठाएका हुन् । उनले आवश्यकताअनुसार थप सहयोग गर्न आफू इच्छुक रहेको बताएका छन् ।
अग्रवालबाट प्राप्त राहत रकममध्ये १ लाख नेपाली रुपैयाँ जोशी परिवारलाई बुधवार हस्तान्तरण गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको रोहबरमा श्री नेपाल ज्वेलर्सका सञ्चालक जसगढले उक्त रकम परिवारलाई हस्तान्तरण गरेका हुन् ।
जोशी दम्पत्तिका जेठा छोरा सन्तोषले आफ्ना अभिभावक मामासहित जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर सहयोग रकम बुझेका हुन् । परिवारलाई नगद आवश्यक परेकाले तत्कालका लागि रकम हस्तान्तरण गरिएको जसगढले बताए ।
‘बाँकी ६० हजारको आवश्यक सामग्री पीडित परिवारले खरिद गर्न भुक्तानी गरिनेछ,’ जसगढले दैनिक नेपालगन्जसँग भने, ‘साना दुई बच्चाका लागि अध्ययन खर्च प्रदान गर्न सकिने गरी दातासँग आवश्यक समन्वय गरिएको छ ।’ जोशीका तीन सन्तानमध्ये जेठा सन्तोषले प्लस टु सकेर स्वास्थ्य विज्ञानमा उच्च शिक्षा अध्ययनको तयारीमा रहेकी बहिनी सुनीता र कक्षा ८ अध्ययनरत भाई सुनीलको शिक्षादिक्षामा चिन्ता गरे ।
जोशी दम्पत्तिका तीन सन्तानमध्ये दुई साना बालबालिकाको अध्ययनमा समेत सहयोग पु¥याउने गरी अग्रवाल परिवारसँग समन्वय गरिएको जसगढले बताए । तत्कालको आवश्यकता पूरा गर्न नगद सहयोग गरिएको हो । सिंघल इन्डष्ट्रिजमार्फत जडीबुटी कारोबारी अग्रवाल परिवारले पीडितहरुका लागि मानवीय सहयोग गर्न इच्छुक अन्य परिवारसँग समन्वय गरि मानवीय राहतमा काम गर्न सकिने मनसायपनि जसगडमार्फत राखेका छन् । जडीबुटी व्यापारीसमेत रहेका जसगढ आफैले पनि प्रधानमन्त्री राहतकोषमा यसअघिनै २ लाख ११ हजार रुपिया प्रदान गरेका थिए ।
यसैबीच, भोटेकोसी बाढीपहिरोबाट प्रभावितका लागि बाँकेबाट राहत तथा सहयोग जुटाउने क्रम पनि जारी छ । बाढीपहिरोमा परी ज्यान गुमाउने, बेपत्ता तथा घाइते भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने तथा खोज, उद्धार, पुनस्र्थापना र पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले विभिन्न संघसंस्था तथा स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिरहेका छन् ।
जानकी गाउँपालिकाले पनि विपद् प्रभावितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायका अनुसार, स्थानीय विपद् व्यवस्थापन कोषबाट १ लाख १ हजार रुपैयाँ उपलब्ध गराइनेछ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा कार्यपालिका सदस्यले पाउने मासिक सुविधाको ७ दिन बराबरको रकम पनि राहतका लागि प्रदान गरिनेछ । वडा सदस्यले पाउने मासिक सुविधाको ३ दिन बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ ।
गाउँपालिकाबाट तलब तथा भत्ता लिने स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत सम्पूर्ण राष्ट्रसेवकबाट समेत सहयोग संकलन गरिने भएको छ । अधिकृत स्तरका कर्मचारीबाट ७ दिनको तलब बराबर, सहायक स्तरबाट ५ दिनको तलब बराबर र कार्यालय सहयोगी स्तरबाट ३ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरिएको उपाध्यायले बताए ।
बाढीपहिरो पीडितका लागि नेपालगन्जका कानून व्यवसायीले पनि सहयोग गरेका छन् । उच्च अदालत बार एशोसिएसन नेपालगन्ज र बाँके जिल्ला अदालत बार एशोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् ।
उच्च अदालत बार नेपालगन्जका अध्यक्ष पवनकुमार गुप्ताका अनुसार, १ लाख ६२ हजार १० रुपैयाँ राहतस्वरूप कोषको खातामा जम्मा गरिएको छ । भोटेकोसी बाढीपहिरोमा परी ज्यान गुमाउने, बेपत्ता तथा घाइते भएका परिवार र प्रभावितको राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको हो ।






























