प्याब्सन बाँकेमार्फत केन्द्रमा पठाइँदै साढे ५३ लाख
भोटेकोसी बाढीबाट प्रभावितका लागि प्याब्सन बाँके अन्तर्गतका संस्थागत विद्यालयहरुले ६५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेका छन् । ज्यान गुमाएका, बेपत्ता भएका, घाइते तथा बाढीबाट प्रभावित परिवारलाई लक्षित गरी जिल्लाका निजी तथा आवासीय विद्यालयले उक्त रकम संकलन गरेका हुन् ।
प्याब्सन बाँकेका अनुसार, ७७ वटा विद्यालयले संकलित ५३ लाख ४१ हजार ४ सय ६ रुपैयाँ प्याब्सनलाई उपलब्ध गराएका छन् । केही विद्यालयले भने संकलित रकम सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । ती रकमसमेत जोड्दा प्याब्सन बाँकेमा आबद्ध विद्यालयबाट बाढीपीडितका लागि संकलित कुल सहयोग ६५ लाख रुपैयाँ बराबर पुगेको जिल्ला अध्यक्ष विकास बज्राचार्यले बताए ।
‘केही विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वतःस्फुर्त रुपमा रकम जम्मा गरिसक्नु भएको छ, केन्द्रबाट परिपत्र आएपछि हामीले विद्यालयहरुलाई जानकारी गराएपछि संस्थागत रुपमा बाढी पीडितका लागि सहयोग रकम प्राप्त भएको हो,’ अध्यक्ष बज्राचार्यले पत्रकारसँग भने ।
संकलित रकमको चेक बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा प्याब्सन बाँकेका विपद् व्यवस्थापन संयोजक महेन्द्र शर्माले जिल्ला अध्यक्ष बज्राचार्यलाई हस्तान्तरण गरे । बज्राचार्यले उक्त चेक प्याब्सन केन्द्रीय प्राज्ञिक परिषद् सदस्य डा. राजेश केशर खनाललाई हस्तान्तरण गरेका थिए ।
प्याब्सनले बाँकेसहित देशभरका विद्यालयबाट संकलन भएको रकम एकीकृत गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको कोषाध्यक्ष प्रविण गिरीले जानकारी दिए ।
चेक ग्रहण गर्दै केन्द्रीय प्राज्ञिक परिषद् सदस्य डा. खनालले प्याब्सन केन्द्रीय समितिको खातामा रकम जम्मा गरिने र त्यसपछि देशभरबाट संकलित रकमलाई एकमुष्ट रूपमा सरकारको उद्धार कोषमा हस्तान्तरण गरिने जानकारी दिए । उनका अनुसार देशमा आएको महाविपद्को समयमा निजी विद्यालय क्षेत्र पनि सरकारको साथमा उभिएको छ । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्न विद्यालय, शिक्षक तथा विद्यार्थीले समेत आफ्नो क्षमता अनुसार योगदान गरेका छन् ।
प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार ऋषिकेश जिसीले भोटेकोसी बाढीले निम्त्याएको विपद्प्रति सबै संवेदनशील बन्नुपर्ने बताए । राहत संकलनमा विद्यार्थीको समेत उल्लेख्य सहभागिता रहेको उनले जानकारी दिए । ‘विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर बाढी पीडितलाई सहयोग गरेका छन्,’ जिसीले भने ।
प्याब्सन पदाधिकारीका अनुसार, प्याब्सन केन्द्रीय समितिले देशभरबाट राहत रकम संकलन गरी १० करोड रुपैयाँ सरकारलाई हस्तान्तरण गर्ने वाचा गरेको छ । बाँकेका विद्यालयबाट संकलित रकम पनि यही अभियानअन्तर्गत केन्द्रमा पठाएर एकीकृत रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
पत्रकार सम्मेलनमा प्याब्सन बाँकेका उपाध्यक्ष शरदचन्द्र रावलले स्वागत गरेका थिए ।






























