बिहीबार विश्व आत्महत्या रोकथाम दिवस आत्महत्या रोकथामबारे संवाद सुरु गरौं ः दृष्टिकोण बदलौ भन्ने नारा सहित सचेतनामूलक कार्यक्रम गरी विश्वभर मनाइएको छ ।
पछिल्लो समय नेपालमा पनि आत्महत्याका घटना वृद्धि हुँदै गएको प्रहरीको तथ्यांकले देखाउँछ । विश्वभर बार्षिक ७ लाख व्यक्तिहरूले आत्महत्या कारण ज्यान गुमाउने गरेका छन् । दिवसको सन्दर्भमा स्वास्थ्य सेवा विभागले निकालेको विज्ञप्तिमा नेपालमा दैनिक औसतमा २० जनाले आत्महत्या गर्ने गरेको उल्लेख छ । विभागले सामूहिक प्रयासबाट मात्रै आत्महत्याका घटना न्यूनीकरण सकिने विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रहरीको तथ्यांक अनुसार, गत आर्थिक बर्ष २०८२÷०८३ मा ७ हजार १ सय २३, आर्थिक बर्ष २०८१÷०८२ मा ६ हजार ८ सय ५२ र आर्थिक बर्ष २०८०÷८१ मा ७ हजार १ सय ८४ जनाले आत्महत्याका कारण ज्यान गुमाएका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट प्राप्त प्रहरी तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा आत्महत्याको संख्या क्रमशः बढ्दै गएको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनीको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०÷०८१, ०८१÷०८२ र २०८२÷०८३ गरी तीन वर्षमा कुल ४ हजार २३ जनाले आत्महत्या गरेको तथ्यांक देखिन्छ ।
लुम्बिनी प्रदेश प्रहरीका अनुसार, आर्थिक बर्ष २०८०÷०८१ मा १ हजार ३ सय २१ जना, ०८१÷०८२ मा १ हजार ३ सय २६ र २०८२÷०८३ मा १ हजार ३ सय ७६ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या गम्भीर रूपमा बढिरहेको संकेत देखिएको छ । प्रहरीका अनुसार आत्महत्याका घटना सबै १२ जिल्लामा देखिएका छन् । मनोसामाजिक तनाव, घरेलु समस्या, आर्थिक कठिनाइ, सम्बन्ध विच्छेद, दीर्घरोग लगायतका कारणले आत्महत्या दर उच्च रहेको अनुमान गरिन्छ ।
विशेषज्ञहरू भन्छन्, प्रदेशमा मनोसामाजिक सेवा विस्तार, स्थानीय तहमा काउन्सिलिङ केन्द्र, विद्यालयस्तरमा मानसिक स्वास्थ्य कार्यक्रम तथा समुदाय–आधारित चेतनामूलक अभियान प्रभावकारी बनाउन सके आत्महत्याका घटनामा कमी ल्याउन सकिनेछ ।
आत्महत्याका घटना बढ्दै जाँदा नियन्त्रणका योजना बनाउनका लागि नेपाल प्रहरीले २०८१ मा घटनाहरूको अध्ययन तथा विश्लेषण समेत गरेको थियो । नेपाल प्रहरीको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ का अनुसार, सर्वेक्षणबाट प्राप्त नतिजालाई संश्लेषण गर्दा करिव ३४% नागरिकको घर परिवार, नाता सम्बन्ध तथा इष्टमित्रभित्र आत्महत्याको घटना भएको र २९% नागरिकको घर परिवार, नाता सम्बन्ध तथा इष्टमित्रभित्र आत्महत्या प्रयास गरेको पाइएको थियो ।
आत्महत्याबाट बढी प्रभावित हुनेमा विपन्न वर्ग र मध्यम वर्ग ८५% रहेको प्रहरीको अध्ययनमा उल्ल्ेख छ । आत्महत्याको प्रयास गरेका व्यक्तिलाई समाजमा घृणा गर्ने र कुनै वास्ता नगर्ने संख्या २८% रहेको अध्ययनले देखाएको छ । आत्महत्याको प्रमुख कारणमा मानसिक तनाब, क्रमशः आर्थिक भार, प्रेममा असफलता, घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, मादक पदार्थ सेवन र पारिवारिक द्वन्द्व रहेको सर्वेक्षणबाट देखिएको थियो ।
आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ का अनुसार, आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रममा पहुँच ३४% नागरिकहरूमा मात्र पुगेको देखिएको थियो । आत्महत्याका अधिकांश घटना सम्बन्धी जानकारी प्रहरीलाई दिइने गरे तापनि आत्महत्या प्रयास सम्बन्धी सबै घटनाको जानकारी प्रहरीमा हुने गरेको नपाइएको अध्ययनले देखाएको छ ।
आत्महत्याका कारण समाजमा बहुआयामिक असर परिरहेको देखिए तापनि युवा र बाल मनोविज्ञानमा सबैभन्दा बढी असर पर्न गई बालबालिकाको शिक्षामा असर परिरहेको अध्ययनबाट देखिएको थियो । साथै पारिवारिक विचलन, अर्थोपार्जनमा कमीको कारण परिवारमा आर्थिक दुरावस्था सिर्जना हुने एवं समाजमा मनोवैज्ञानिक असर पर्न गई आत्महत्याका घटनाहरू समेत बढ्न सक्ने देखिन्छ । त्यसैगरी आत्महत्या भएका घरपरिवारका सदस्यहरूलाई समेत यस्ता घटनाले मनोबलमा कमी भई सामाजिक प्रतिष्ठामा समेत आँच पुगिरहेको देखिन्छ ।
आत्महत्या सम्बन्धी कसूरको आ.व. २०७८÷०७९ र २०७९।८० को अपराध तथ्याङ्क अनुसार आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको, प्रदेशगत तुलना गर्दा सबैभन्दा बढी आत्महत्या कोशी प्रदेशमा र कम आत्महत्या कर्णाली प्रदेशमा घटेको, उमेर समूह अनुसार कुल आत्महत्यामध्ये सबैभन्दा बढी १८–२५ वर्ष उमेर समूहमा २१% र बालबालिकामा समेत १५% आत्महत्या भएको, जातीय आधारमा आदिवासी जनजातिमा सबैभन्दा बढी ३९% आत्महत्या भएको, शैक्षिक स्तरको आधारमा साधारण लेखपढ गर्ने सबैभन्दा बढी ६३.१% रहेको, पेशाको आधारमा कृषि पेशा गर्नेमा सबैभन्दा बढी ४६%, क्रमशः विद्यार्थी १५.४% र गृहिणी ११.६% मा रहेको पाइएको थियो ।
आत्महत्याको तथ्याङ्क महिनागत विश्लेषण गर्दा सबैभन्दा बढी बैशाख महिनामा ९.६% र सबैभन्दा कम पौष महिनामा ६.८% पाइएको, बारगत विश्लेषण गर्दा सबैभन्दा बढी शुक्रबार १५.२% र सबैभन्दा कम शनिबार १३.७% पाइएको थियो । आत्महत्या गर्ने माध्यमको विश्लेषण गर्दा सबैभन्दा बढी झुण्डिएर ८३.५%, क्रमशः विष सेवन गरेर १५% र केही संख्यामा हाम फालेर, आगो लगाएर, डुबेर, हातहतियार प्रयोग गरेर आदि तरिकाबाट गर्ने गरेको पाइयो ।
त्यसैगरी अपराध तथ्याङ्कको आधारमा आत्महत्याको कारण विश्लेषण गर्दा करिव ६७% मानिसहरू मानसिक रोग र मानसिक तनाबको कारण आत्महत्या गरिरहेको देखिन्छ भने अन्य प्रमुख कारणहरूमा क्रमशः प्रेम सम्बन्धित कारणहरू ८.२%, आर्थिक समस्याहरू ८%, दीर्घ रोग ७.५%), लागुपदार्थ सेवन ४.७%, मादक पदार्थ सेवन २.८% र अन्य कारण शारिरीक अपाङ्गता, अनैतिक सम्बन्ध, घरेलु हिंसा, पारिवारिक द्वन्द्व, आवेग, बेरोजगारी, यौन हिंसा रहेको देखिएको थियो । उमेर र लिङ्गको आधारमा तुलनात्मक अध्ययन गर्दा २५ वर्ष मुनिको उमेरमा महिलाहरूले आत्महत्या बढी गरिरहेको ५०.२% देखिन्छ भने २५ वर्ष भन्दा माथिका उमेरमा पुरुषहरूले आत्महत्या बढी गरिरहेको देखिन्छ । बालबालिकामा हेर्दा बालिकामा बढी २३.४% देखिन्छ भने बालकमा ९.२% देखिन्छ । स्थानको आधारमा हेर्दा करिव ७१% ले घर भित्र र २९% ले घर बाहिर आत्महत्या गरेको पाइयो ।



























