भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज सोमबार देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन
खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।
पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
तीजका दिन आज शिव मन्दिरहरूमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । तीजका दिन विभिन्न ठाउँमा नाचगान हुने गर्दछ । तीजको अघिल्लो दिन दर खाने र तीजका दिन व्रत वसेर नाचगान गरि मनाउने गरिन्छ ।
विगतका बर्ष जस्तो यसबर्ष तीजको रौनक भने रहेन । भोटेकोशी बाढीका कारण भएको जनधनको शोकमा यसबर्ष अघिल्ला बर्ष जस्तै तीज अघि नै हुने दर खाने कार्यक्रम सहितका सांगीतिक कार्यक्रम यस बर्ष भएनन् ।
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेलले अघिल्ला बर्ष जस्तो होटलहरूमा यसपटक तीज मिलन कार्यक्रम नभएको बताउँछन् ।





























