सन्ध्या गैरे
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराध र अनलाइन जोखिम पनि बढिरहेका बेला खजुरामा बालबालिका तथा युवालाई लक्षित गरी साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा आइतवार युवा अभियान लुम्बिनी प्रदेशले खजुरा गाउँपालिकाको समन्वयमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा करिब ५० जना विद्यार्थी तथा युवाको सहभागिता थियो । वडा स्तरीय बाल सञ्जाल, वडा स्तरीय किशोरी सञ्जाल र लियो क्लब खजुराका प्रतिनिधि तथा सदस्यहरू कार्यक्रममा सहभागी भएका थिए ।
सहभागीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीदेखि व्यक्तिगत सूचना र डिजिटल पहिचान सुरक्षित राख्ने उपायसम्म जानकारी दिइएको थियो । अपरिचित व्यक्तिको फ्रेन्ड रिक्वेस्ट, शंकास्पद लिंक र फेक अकाउन्टबाट जोगिनुपर्ने विषयमा पनि उनीहरूलाई सचेत गराइएको थियो ।
लियोका भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट बसन्त बस्नेतले कार्यक्रममा साइबर सुरक्षा तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगसम्बन्धी प्रस्तुतीकरण दिए । उनले साइबर सुरक्षा मोबाइल वा कम्प्युटरमा पासवर्ड राख्ने विषयमा मात्र सीमित नरहेको बताए ।
उनका अनुसार, व्यक्तिगत सूचना, डिजिटल खाता, फोटो, भिडियो, सञ्चार र अनलाइन पहिचानको सुरक्षा पनि साइबर सुरक्षाकै महत्वपूर्ण हिस्सा हो । सामाजिक सञ्जालमा आउने नक्कली उपहार वा पुरस्कारका सन्देश, ओटीपी माग्ने व्यक्ति र अनलाइन ठगीका प्रयासप्रति विशेष सावधानी अपनाउन उनले सहभागीलाई आग्रह गरे ।
प्रस्तुतीकरणका क्रममा बलियो पासवर्ड राख्ने र दुई तहको प्रमाणीकरण सक्रिय गर्ने तरिका पनि बताइएको थियो । ओटीपी तथा पासवर्ड अरूलाई नदिने, सामाजिक सञ्जालको गोपनीयता जाँच गर्ने र अपरिचित लिंकमा क्लिक नगर्ने विषयमा सहभागीलाई व्यावहारिक जानकारी दिइएको थियो । व्यक्तिगत सूचना अनावश्यक रूपमा सार्वजनिक नगर्न पनि उनीहरूलाई सुझाव दिइएको थियो ।
सामाजिक सञ्जालमा कुनै सामग्री पोस्ट वा शेयर गर्नुअघि त्यसको सत्यता, स्रोत र सम्भावित प्रभावबारे विचार गर्नुपर्ने विषयमा समेत सचेत गराइएको थियो । साइबर बुलिङ, फेक प्रोफाइल, व्यक्तिगत विवरणको दुरुपयोग, फोटो तथा भिडियोको अनधिकृत प्रयोग, अनलाइन ठगी र डिजिटल गोपनीयताका विषयमा सहभागीले जानकारी पाए ।
साइबर अपराध वा अनलाइन दुव्र्यवहारको घटना भए डराएर एक्लै बस्न नहुने प्रशिक्षक बस्नेतले बताए। त्यस्तो अवस्थामा विश्वासिलो अभिभावक, शिक्षक वा सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र आवश्यक प्रमाण सुरक्षित राख्नुपर्ने उनले बताए ।
कार्यक्रममा किशोरी सञ्जाल खजुराकी अध्यक्ष समीक्षा ओलीले डिजिटल युगमा साइबर सुरक्षासम्बन्धी ज्ञान सबैका लागि आवश्यक भइसकेको बताइन् । प्रविधिले ज्ञान हासिल गर्न, अगाडि बढ्न र नयाँ अवसर सिर्जना गर्न सहयोग गरे पनि यसको गलत प्रयोगले गम्भीर असर पार्न सक्ने उनको भनाइ थियो ।
‘हामीलाई अगाडि बढ्न जति प्रविधिले सहयोग पु¥याउँछ, त्यति नै यसको गलत प्रयोग भयो भने वर्षौँसम्म वा जीवनभरि नै चोट पु¥याउन सक्छ’, ओलीले भनिन् ।
विशेषगरी किशोरी तथा युवाले सामाजिक सञ्जाल चलाउँदा आफ्नो गोपनीयता, व्यक्तिगत सूचना र डिजिटल सुरक्षामा ध्यान दिनुपर्ने उनले बताइन्। प्रविधिको प्रयोग अवसरका रूपमा लिनुपर्ने तर त्यसको जोखिमलाई बेवास्ता गर्न नहुने उनको भनाइ थियो।
युवा अभियान लुम्बिनी प्रदेशकी महासचिव अञ्जना धितालले प्रविधिको विकाससँगै युवाको सामाजिक सञ्जालमा सक्रियता तीव्र बनेको बताइन्। त्यससँगै साइबर अपराध र अनलाइन जोखिमका घटना पनि बढिरहेको उनले उल्लेख गरिन्।
‘आजको पुस्ताका लागि साइबर सुरक्षासम्बन्धी आधारभूत ज्ञान अत्यावश्यक छ। अहिलेका युवा दैनिक जीवनमा सामाजिक सञ्जाल र प्रविधिसँग धेरै नजिक छन्। त्यसैले यसको सुरक्षित र जिम्मेवार प्रयोगबारे सचेत हुनुपर्छ’, धितालले भनिन्।
बाल दिवसको अवसरमा गरिएको कार्यक्रमको उद्देश्य बालबालिका तथा युवालाई सुरक्षित र जिम्मेवार डिजिटल नागरिकका रूपमा विकास गर्नु रहेको उनले बताइन्। प्रविधिको पहुँच बढ्दै जाँदा त्यसको सही प्रयोगबारे ज्ञान दिनु पनि आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा ‘पढ्दै कमाउँदै अभियान’का अभियन्ता नारायण सिग्देलले पनि प्रविधि प्रयोगको सन्तुलनबारे धारणा राखे । आजका ऊर्जाशील युवाको ध्यान प्रविधितर्फ तीव्र रूपमा केन्द्रित भइरहेको उनले बताए ।
नेपालमा अवसर छैन भन्ने निराशाभन्दा उपलब्ध स्रोत र सम्भावनाको खोजी गर्नुपर्नेमा सिग्देलले जोड दिए । कृषि, जडीबुटी, स्थानीय स्रोतसाधन र सीपको अनुसन्धान तथा प्रयोगबाट नयाँ अवसर सिर्जना गर्न सकिने उनले बताए ।
मोबाइल, भिडियो गेम र सामाजिक सञ्जालमा अनावश्यक समय बिताउनुभन्दा प्रविधिलाई अनुसन्धान, ज्ञान, सीप विकास र सिर्जनात्मक काममा लगाउनुपर्ने उनको सुझाव थियो। नेपालमा पाइने विभिन्न जडीबुटी तथा कृषि उत्पादनको अनुसन्धान, प्रशोधन र बजारीकरण गर्न सके देशमै रोजगारी र आम्दानीका अवसर बढाउन सकिने उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओलीले भने प्रविधिको विस्तारसँगै मानिसको जीवनशैली र व्यवहारमा आएको परिवर्तनप्रति चिन्ता व्यक्त गरे। सामाजिक सञ्जालमा युवाले बिताउने समय बढ्दै गएको उनले बताए ।
उनले आफ्नो पुस्ताको अनुभव पनि सुनाए । ‘हाम्रो पुस्ताले कुटो–कोदालो लिएर खेतबारीमा काम गर्दै सीप सिक्ने र उत्पादन गर्ने गरेको थियो’, उनले भने।
अहिले बालबालिका तथा युवाको ठूलो समय मोबाइल र सामाजिक सञ्जालमा बित्न थालेको उनले बताए । यसले दैनिक जीवनका सामान्य र आवश्यक कामबाट उनीहरू टाढिँदै गएको अवस्था देखिन थालेको उनको भनाइ थियो। प्रविधिको प्रयोगसँगै व्यावहारिक जीवनबीच पनि सन्तुलन कायम गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सामाजिक सञ्जाल तथा प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। उनीहरूले अनलाइनमा देखिने जोखिम, व्यक्तिगत विवरणको सुरक्षा र सामाजिक सञ्जालको प्रयोगका विषयमा प्रश्न गरेका थिए ।
आयोजकका अनुसार, यस्ता सचेतनामूलक कार्यक्रमले बालबालिका तथा युवालाई प्रविधिको सकारात्मक प्रयोगतर्फ प्रेरित गर्नेछ । सुरक्षित र जिम्मेवार डिजिटल वातावरण निर्माणमा पनि कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
६२औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आयोजित कार्यक्रम युवा अभियान लुम्बिनी प्रदेशको आयोजनामा भएको हो । खजुरा गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा वडा स्तरीय बाल सञ्जाल, वडा स्तरीय किशोरी सञ्जाल तथा लियो क्लब खजुराको सहभागिता रहेको थियो ।






























