बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१४ बालेगाउँबाट १०३ ग्राम ७९० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार बालेगाउँबाट बाबुगाउँतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल चालकले प्रहरीलाई छल्दै भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि मोटरसाइकलमा भाग्न खोजेपछि थप दुई राउण्ड गोली मोटरसाइकलको टायरमा प्रहार गरी उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
खानतलासी गर्दा उनको साथबाट शुद्ध तौल १०३ ग्राम ७९० मिलिग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पक्राउ पर्नेमा भारतको बहराइच, रुपैडिया थाना चकिया रोड बस्ने २४ वर्षीय नदीम राई रहेका छन्। उनको साथबाट एउटा मोबाइल फोन र भारतीय नम्बर प्लेटको UP40J0657 नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिएका छन् ।





























