स्वर्गीय केशव श्रेष्ठको स्मृतिमा प्रथम केशव श्रेष्ठ स्मृति कप–२०८३ खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। फ्लोरिड एकेडेमी डुडुवा–५, बाँकेको आयोजना, सेटप–अप तेक्वान्दो डोजाङको सहयोग तथा राष्ट्रिय तेक्वान्दो संघ–नेपालको समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।
नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित ‘द फार्म’ मा यही असोज १० र ११ गते दुई दिन प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा जिल्लाभरिका १५ वटा डोजाङका करिब ३२५ भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ। खेलाडीहरूले केरोगी र पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडी तथा डोजाङलाई मेडल, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले बाँकेमा तेक्वान्दो खेलको विकाससँगै नयाँ पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताका संयोजक तथा फ्लोरिड एकेडेमीका प्रिन्सिपल एवं अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर प्रेम पुनले स्वर्गीय केशव श्रेष्ठको योगदानको स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो। “केशव श्रेष्ठज्यूले तेक्वान्दो खेलको विकासमा पुर्याउनुभएको योगदानलाई सम्मान गर्दै उहाँको स्मृतिलाई जीवन्त राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेका हौँ,” संयोजक पुनले भन्नुभयो।
उहाँले प्रतियोगितालाई केवल प्रतिस्पर्धाका रूपमा नभई बाँकेमा तेक्वान्दो खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि र नयाँ प्रतिभाको पहिचान गर्ने अवसरका रूपमा अघि बढाउन खोजिएको बताउनुभयो। “खेलकुदले स्वस्थ जीवनशैलीसँगै अनुशासन, आत्मविश्वास र राष्ट्रप्रतिको जिम्मेवारीको भावना विकास गर्छ। त्यसैले बालबालिका तथा युवालाई खेलकुदमा जोड्न यस्ता कार्यक्रम निरन्तर आवश्यक छन्,” पुनले जोड दिनुभयो।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगितामा सम्बन्धित डोजाङ, प्रशिक्षक, खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूको सक्रिय सहभागिताका लागि आयोजकले आग्रह गरेको छ।






























