बाँके सहित देशका विभिन्न क्षेत्रमा बिहीबार लगातार वर्षा हुँदा जनजीवन प्रभावित भएको छ ।
वर्षासँगै आएको पहिरोका कारण प्रमुख तथा ग्रामीण सडकखण्ड अवरुद्ध हुँदा यातायात सेवा प्रभावित समेत भएको छ । बर्षाका कारण बजारमा समेत दिनभर चहलपहल देखिएन । नेपालगन्जका विद्यालय शुक्रबार बर्षाकै कारण
बन्द गरिएको थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गर्दै बाँके सहित २५ जिल्लामा यातायातका साधन पूर्ण रूपमा बन्द गर्न भनेको छ ।
बाँकेका जिल्ला आपतकालीन कार्यसञ्चालनक केन्द्रका फोकल पर्सन रूपन ज्ञवालीले शुक्रबार बाँकेमा बर्षाका कारण क्षतिको खबर नआएको बताए ।
‘राप्तीनदीको जलस्तर पनि सामान्य नै छ’, शुक्रबार अबेर उनले दैनिक नेपालगन्जसँग भने, ‘बाढी तथा डुबान भैहाले ४२ वटा स्थानमा आश्रय स्थल बनाउने गरी पूर्व तयारीमा छौं ।’
नेपालगन्ज उपमहानगर–पालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले नेपालगन्जमा बर्षाको पानीको व्यवस्थापनका लागि शुक्रबार विभिन्न ठाउँको नाला तथा ढल सफा गरिएको बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागले सेप्टेम्बर २४ देखि २७ सम्म भारी वर्षाको सम्भावना औँल्याउँदै बाढी, पहिरो र सडक अवरोधप्रति सतर्क रहन आग्रह गरेको छ । प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज शनिबार र भोलि आइतबार देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका अधिकांश स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । शनिबार देशभर अधिकांश भू–भागमा बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका अधिकांश स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका अधिकांश स्थान तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थानमा समेत मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।
आइतबार पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश समय बादल लाग्नेछ। यी प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
आइतबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ। बागमती र मधेशका एक–दुई स्थानमा समेत भारी वर्षाको सम्भावना छ । मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्नसक्ने पूर्वानुमान छ ।
आइतबार राति भने देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी पहाडी तथा तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





























