दैनिक नेपालगन्ज
नेपाल सीमा क्षेत्रमा तैनात भारतीय सशस्त्र सीमा बल (एसएसबी) र नेपाली सशस्त्र प्रहरी बल (एपीएफ) का जवानले आपसी सद्भाव, प्रेम र भाइचाराको सन्देश दिँदै संयुक्त रूपमा दीपावली मनाएका छन् ।
भारतको रुपैडिहास्थित सीमा क्षेत्रमा दीपावलीका अवसरमा दुवै देशका सुरक्षा निकायका जवानले एकअर्कालाई मिठाई तथा उपहार प्रदान गर्दै पर्वको शुभकामना आदानप्रदान गरेका हुन् ।
एसएसबी ४२औं वाहिनीका कमान्डेन्ट गिरीश चन्द पाण्डेका अनुसार भारत र नेपालबीच वर्षौंदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले यस्तो पहल गरिएको हो ।
रुपैडिहा सीमा चौकीमा तैनाथ सहायक कमान्डेन्ट अमित कटियार, अभिषेक कुमार तथा इन्स्पेक्टर अभिषेक त्रिपाठीले नेपाली सशस्त्र प्रहरीका जवानलाई पटाका र मिठाई प्रदान गर्दै दीपावलीको शुभकामना दिएका थिए ।
त्यस्तै, रुपैडिहा प्रहरी थानाका प्रहरी निरीक्षक हरेंद्र मिश्रले पनि नेपाली एपीएफका अधिकारीलाई अंगवस्त्र, दोसल्ला र मिठाई प्रदान गरी सम्मानसहित पर्वको शुभकामना दिएका थिए ।
कार्यक्रममा दुवै देशका सुरक्षा बलका जवानले एकअर्कालाई दीपावलीको शुभकामना दिँदै आपसी सहयोग, विश्वास र सद्भाव कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । यस पहलले भारत–नेपालबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।





























