हामी नेपालगञ्ज, राम्रो नेपालगञ्ज भन्दै हिँड्छौँ, तर आफ्नै सहरमा भएका यति सुन्दर ठाउँको संरक्षण गर्न सक्दैनौँ भने नेपालगञ्जको विकास कसरी हुन्छ? बिहान मर्निङ वाक गर्न आउँदासमेत सुरक्षित महसुस गर्न नसक्ने अवस्था छ। झाडीले ढाकिएको सुनसान ठाउँमा लागुऔषध सेवन गर्नेहरू भेटिने डर हुन्छ। कतै उनीहरूबाट नराम्रो व्यवहार हुने हो कि भन्ने चिन्ताले एक्लै हिँड्नसमेत असहज हुन्छ। आफ्ना छोराछोरीलाई लिएर परिवारसहित घुम्न आउने वातावरणसमेत छैन। यस्तो अवस्थामा हामी कहाँ सुरक्षित हुने र हाम्रा बालबालिकाले के सिक्ने?’ दैनिक मर्निङ वाकका लागि कान्तिताल पुग्ने सन्ध्या रिजालले प्रश्न गरिन्।

उनले नेपालगञ्जको विकास र पर्यटन प्रवर्द्धनको कुरा गर्ने अगुवा, सामाजिक अभियन्ता, युवा सञ्जाल तथा सामाजिक सञ्जालमा सक्रिय सोसल मिडिया इन्फ्लुएन्सरहरूले पनि यस्ता सार्वजनिक सरोकारका विषयमा आवाज उठाउनुपर्ने बताइन्। टिकटक मार्फत व्यवसाय गर्ने तथा नेपालगञ्जको प्रचारप्रसारमा सक्रिय युवाहरूले सहरका राम्रा पक्षको प्रचारसँगै यहाँका समस्या समाधानका लागि पनि पहल गर्नुपर्ने उनको भनाइ छ। ‘हामी नयाँ–नयाँ संरचना निर्माण गर्ने कुरा गर्छौँ, कतै नयाँ पूर्वाधार बनाइन्छन् तर भएका पुराना संरचनाको संरक्षण गर्न सक्दैनौँ। दुर्लभ चराचुरुङ्गीसमेत आउन सक्ने, प्राकृतिक रूपमा सुन्दर र पर्यटकीय सम्भावना बोकेको कान्तिताललाई किन व्यवस्थित र रमणीय बनाउन सक्दैनौँ? राम्रो नेपालगञ्ज बनाउने कुरा गर्ने अगुवाहरूले अहिले यो अवस्थाबारे के गर्दै हुनुहुन्छ?’ रिजालले प्रश्न गरिन्। उनले सार्वजनिक स्थानमा हुने लागुऔषध सेवन तथा शङ्कास्पद गतिविधि नियन्त्रणमा प्रहरी प्रशासनको भूमिकामाथि पनि प्रश्न उठाइन्। ‘प्रहरी प्रशासन कहाँ छ? लागुऔषध सेवन गर्नेहरूलाई नियन्त्रण गर्न खोज्दा निश्चित व्यक्तिहरूलाई मात्र पक्राउ गरेर पुग्छ कि खुला सार्वजनिक स्थानमा भइरहेको यस्तो गतिविधि नियन्त्रणका लागि पनि प्रभावकारी कदम चाल्नुपर्छ? हामीजस्ता सर्वसाधारण कहाँ सुरक्षित हुने? बिहान स्वास्थ्यका लागि हिँड्नसमेत डराउनुपर्ने अवस्था आउनु दुःखद हो,’ उनले भनिन्।
रिजालका अनुसार कान्तिताल कुनै समय बिहान मर्निङ वाक गर्न, परिवारसँग घुम्न, बालबालिकालाई प्रकृतिसँग परिचित गराउन र शान्त वातावरणमा समय बिताउन उपयुक्त गन्तव्य थियो। तर, अहिले झाडी र बुट्यानले ढाकिएको ताल परिसरमा सुरक्षा र व्यवस्थापनको अभाव हुँदा सर्वसाधारणको आकर्षण घट्दै गएको छ। उनले कान्तिताललाई पुनः सुरक्षित, सफा र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन उपमहानगरपालिका तथा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने बताइन्। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभावमा अलपत्र परेको छ। नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरपालिकाले विसं २०७५ मा महत्त्वाकाङ्क्षी योजना अघि बढाएको थियो। तर, संरक्षण र व्यवस्थापन नहुँदा तालको अवस्था जीर्ण बन्दै गएको हो।
स्थानीय पूर्वाधार विकास र सौन्दर्य अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ करिब १० करोड रुपैयाँ खर्च गरिसकेको छ। सौन्दर्यका लागि हालिएका आकर्षक रेलिङहरू भत्किएका छन् भने सिङ्गो ताल क्षेत्र झाडी र बुट्यानले भरिएर आफ्नो अस्तित्व नै गुमाउने अवस्थामा पुगेको नेपालगञ्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाले बताए।
थापाका अनुसार कान्तिताल केवल भौतिक पूर्वाधार मात्र नभई जैविक विविधताको दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण छ। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको प्राकृतिक बासस्थान रहेको छ। पर्यावरण र चरा संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ताहरूले ताललाई पुरानै लयमा फर्काउन र यसको प्राकृतिक स्वरूप जोगाउन निरन्तर आवाज उठाइरहेका छन्। सरोकारवाला निकायलाई पटक–पटक घच्घच्याउँदा पनि हालसम्म कुनै ठोस सुनुवाइ हुन सकेको छैन।

झाडीले ढाकिएको यो ताल क्षेत्र रात परेपछि झनै जोखिमपूर्ण बन्ने गरेको छ। अहिले कान्तिताल लागुऔषध सेवन गर्ने व्यक्तिहरूको जमघटस्थल बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। साँझपख यहाँ हुने शङ्कास्पद गतिविधिले आसपासका बासिन्दालाई त्रसित बनाएको थापाले बताए। तालको उचित सरसफाइ, बत्ती र सुरक्षा निगरानीको व्यवस्था नहुँदा सर्वसाधारणले सहज रूपमा आवतजावत गर्नसमेत नसक्ने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ।
ताल सञ्चालनका लागि वार्षिक २८ लाख रुपैयाँ उपमहानगरलाई राजस्व बुझाउने सम्झौतासहित ठेक्का लिएका फनबहादुर गुरुङले ताल परिसरमा बनाइएका रेलिङ र पूर्वाधारहरू लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने बताए।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाहरू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरे। उनले भने, ‘विगतमा बनाइएका योजनाहरूले अपेक्षाकृत नतिजा दिन सकेनन्।’ सरोकारवाला निकायका प्रतिनिधिहरूसँग गहन छलफल गरेर कान्तितालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी नयाँ योजना बनाउने तयारी भइरहेको उनले जानकारी दिए। कुनै समय नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको कान्तितालको तत्काल संरक्षण गरिनुपर्ने नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए। उनका अनुसार पर्याप्त सम्भावना बोकेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न नसक्नु सहरकै लागि दुर्भाग्यपूर्ण विषय हो।
कान्तिताललाई पुनः आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अब सामान्य सरसफाइ मात्र पर्याप्त हुने देखिँदैन। तालको प्राकृतिक स्वरूप र जैविक विविधताको संरक्षण, भौतिक पूर्वाधारको मर्मतसम्भार, झाडी व्यवस्थापन, पर्याप्त प्रकाश, सुरक्षा निगरानी तथा नियमित सरसफाइलाई एकीकृत योजनाका रूपमा अघि बढाउन आवश्यक छ।
स्थानीयवासीले उपमहानगरपालिका, प्रहरी प्रशासन, ताल व्यवस्थापन पक्ष तथा सम्बन्धित सरोकारवाला निकायलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्। करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका संरचना संरक्षणविहीन अवस्थामा छाड्नुको सट्टा तिनको दिगो उपयोग र व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरूको माग छ।
नेपालगञ्जमा नयाँ पर्यटकीय संरचना निर्माण गर्ने योजनासँगै भएका प्राकृतिक तथा सार्वजनिक सम्पदाको संरक्षण गर्नु पनि उत्तिकै आवश्यक छ। चराचुरुङ्गीको प्राकृतिक बासस्थान, परिवारको घुमफिरस्थल र सर्वसाधारणको मर्निङ वाक गन्तव्य बन्न सक्ने कान्तिताललाई पुनः जीवन्त बनाउन नसकिए नेपालगञ्जको पर्यटन विकाससम्बन्धी योजना र प्रतिबद्धतामाथि नै प्रश्न उठ्ने देखिन्छ।
करिब १० करोड रुपैयाँ खर्च भइसकेको कान्तिताललाई संरक्षण गरेर सुरक्षित र व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन अझै कति समय लाग्ने हो? स्थानीयवासीको प्रश्न यही छ।






























