नेपालगन्ज भन्सार कार्यालयबाट हुने वैदेशिक व्यापार चालु आर्थिक वर्षको पहिलो चार महिनामा उल्लेख्य रूपमा बढेको छ । गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८३÷८४ को कात्तिक मसान्तसम्म कुल वैदेशिक व्यापार २९.३८ प्रतिशतले वृद्धि भएको छ । आयात र निर्यात दुवैमा वृद्धि हुँदा व्यापारको आकार बढेको हो ।
नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३१ अर्ब ८३ करोड २१ लाख रूपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २४ अर्ब ६० करोड ३७ लाख रूपैयाँ बराबरको व्यापार भएको थियो । यस अवधिमा व्यापारको आकार ७ अर्ब २२ करोड रूपैयाँभन्दा बढीले बढेको देखिन्छ ।
तथ्यांकअनुसार आयातमा २८.९४ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ३० अर्ब ७३ करोड ७९ लाख रूपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २३ अर्ब ८३ करोड ९ लाख रूपैयाँ बराबरको आयात भएको थियो । यस वर्ष आयात ६ अर्ब ८९ करोड रूपैयाँभन्दा बढीले बढेको हो ।
निर्याततर्फ भने अझ उत्साहजनक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ अर्ब १० करोड ४२ लाख रूपैयाँ बराबरका वस्तु निर्यात भएका छन् । गत वर्षको सोही अवधिमा ७७ करोड २८ लाख रूपैयाँ बराबरको निर्यात भएको थियो । यसअनुसार निर्यातमा ४२.८८ प्रतिशतले वृद्धि भएको छ ।
यद्यपि, आयातको तुलनामा निर्यातको हिस्सा निकै कम हुँदा व्यापार घाटा कायमै छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात–निर्यात अनुपात २७.८३ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात ३०.८४ प्रतिशत थियो । निर्यातमा वृद्धि भए पनि आयातको तुलनामा निर्यातको हिस्सा घट्नुले व्यापार असन्तुलनको अवस्था अझै चुनौतीपूर्ण रहेको देखाउँछ ।
यसैबीच, नेपालगन्ज भन्सारको राजस्व संकलनमा पनि वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा ६ अर्ब ६७ करोड २६ लाख रूपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १ करोड ३४ लाख रूपैयाँ संकलन भएको थियो । यसरी राजस्व संकलन १०.९६ प्रतिशतले बढेको छ ।
तर राजस्व संकलनमा वृद्धि भए पनि लक्ष्यअनुसारको प्रगति हुन सकेको छैन । कात्तिक मसान्तसम्म ७ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ८४.८८ प्रतिशत मात्रै उपलब्धि हासिल भएको छ । लक्ष्यको तुलनामा करिब १५ प्रतिशत राजस्व अपुग देखिएको छ । आयात र निर्यातमा वृद्धि तथा राजस्व संकलनमा सुधार देखिए पनि निर्धारित लक्ष्य पूरा गर्न नसक्नु नेपालगन्ज भन्सार कार्यालयका लागि चुनौतीका रूपमा देखिएको छ ।






























