नेकपा एमाले जिल्ला कमिटी बाँकेको तेस्रो पूर्ण बैठक मंगलबार बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ मा सुरु भएको छ । नेकपा एमाले बाँके अध्यक्ष निरक गुरुङको अध्यक्षता र पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालको प्रमुख आथित्यतामा सुरु भएको दुई दिने बैठक विभिन्न विषयको छलफलमा केन्द्रित छ ।
दुईदिन सम्म चल्ने बैठक बाँकेमा एमालेलाई सशक्त पार्टी बनाउने रणनीति निर्माणमा केन्द्रित छ भने ‘जरा अभियान’ अभियानलाई प्रभावकारी बनाउने लगायतका बिषयमा महत्वपूर्ण निर्णय गर्ने अध्यक्ष निरक गुरुङले जानकारी दिएका छन् ।
बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव अर्यालले आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर रणनीति निर्माण गर्न निर्देशन दिइन् । उनले पार्टीलाई प्रत्येक नागरिकको घरदैलो पु¥याउन नेता कार्यकर्तालाई अपिल गरिन् ।
बैठकमा जरा अभियानलाई प्रभावकारी बनाउने बिषयमा छलफल भइरहेको पार्टी अध्यक्ष गुरुङले बताए । बैठकको पहिलो दिन खजुरा, बैजनाथ, कोहलपुर सहित बिभिन्न वडाका ईन्चार्जहरूले रिपोर्टिङ गरेका छन् । दोस्रो दिन अन्य पालिका, वडा कमिटी र बिभागहरूले रिपोर्टिङ गरेपछि निष्कर्ष सहित विभिन्न निर्णय हुनेछन् ।
पार्टी केन्द्रीय सदस्य एवं बाँके ईन्चार्ज शान्ति ढकाले जरा अभियान क्रममा हुने महत्वपूर्ण काम जनतासँग एमालेलाई अझ कसिलो गरी जोड्नु रहेको बताइन् । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ उनले भनिन् । बैठकमा पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य सहितको उपस्थिति रहेको छ ।