लुम्बिनी प्रदेशमा विगतका बर्ष भन्दा चालु आर्थिक बर्षमा ह्वात्तै वृद्धि भएको छ । लुम्बिनी प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले कृषिजन्य उत्पादन वृद्धि भएको जानकारी दिएका हुन् ।
कृषि क्षेत्र प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३१ प्रतिशत योगदान दिने यस क्षेत्रलाई दिगो, व्यवसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यले विभिन्न कृषि नीतिहरू र रणनीतिहरू कार्यान्वयन भइरहेको छ ।
कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र उत्पादनमुखी बनाउने प्रयोजनका लागि सरकार, निजी क्षेत्र तथा सहकारी संस्थाहरूको सक्रिय सहभागिता रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
‘रासायनिक मल, बिउबीजन, कृषि उपकरणहरूमा अनुदान र सहुलियत प्रदान गरिँदै आएको छ । साथै, माटोको परीक्षण, जैविक मलको प्रवद्र्धन, जलवायु अनुकूल कृषि अभ्यास तथा कृषिसँग सम्बन्धित जोखिम कम गर्ने कार्यक्रमहरू पनि सञ्चालनमा छन्’, मन्त्री कार्कीले आर्थिक सर्वेक्षण जारी गर्दै भनेका छन् ।
आर्थिक सर्वेक्षण अनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा १३ लाख ७६ हजार मेट्रिक टन धान उत्पादन भएको अनुमान रहेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा धान, मकै र गहुँ क्रमशः १३ लाख १० हजार मेट्रिक टन, ४ लाख ७९ हजार मेट्रिक टन, ५ लाख ४६ हजार मेट्रिक टन उत्पादन भएको थियो । चालु आर्थिक वर्षमा धान, गहुँ र मकैको उत्पादनमा वृद्धि भएको लुम्बिनी प्रदेशको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा ६७ह जार ७ सय ४२ मेट्रिक टन तेलहन बाली उत्पादन भएको अनुमान रहेको छ । आर्थिक वर्ष २०८०÷८१ मा तेलहन बालीको उत्पादन ६४ हजार ५ सय १६ मेट्रिक टन भएको थियो । सर्वेक्षण अनुसार, चालु आर्थिक वर्षमा तेलहन, दलहन तथा तरकारी बालीको उत्पादनमा वृद्धि भएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्तसम्म लुम्बिनी प्रदेशमा ७८ हजार ९ सय ४४ मेट्रिक टन मासु र १६ हजार ६८ मेट्रिक टन माछा उत्पादन भएको अनुमान रहेको छ । जुन अघिल्लो आ.व.को तुलनामा वृद्धि भएको हो ।
सर्वेक्षण अनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ को चैत्र मसान्तमा लुम्बिनी प्रदेशमा गाई र भैंसीको संख्या क्रमशः ७ लाख ९६ हजार र ८ लाख ४२ हजार रहेको अनुमान छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा गाई, भैंसी, बंगुर, भेडा, बाख्रा तथा कुखुराको संख्या बढेको अनुमान रहेको छ ।
लुम्बिनी प्रदेशमा आ.व. २०८०÷८१ मा कुल ९४ हजार १ सय ६६ मेट्रक टन रासायनिक मल आपूर्ति भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा ७४ हजार १ सय ५७ मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको थियो ।
आधा बढी किसानलाई आफ्नै उत्पादनले पुग्दैन खान
लुम्बिनी प्रदेशमा कृषि उत्पादन वृद्धि भैरहेको तथ्य सार्वजनिक हुँदै गर्दा प्रदेशमा रहेको आधा बढी कृषकले आफ्नै उत्पादनले खान नपुग्ने तथ्यांक सार्वजनिक भएको छ ।
लुम्बिनी प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, लुम्बिनी प्रदेशमा कृषि उत्पादनबाट भएको आम्दानीले मात्र वर्षभरी परिवारलाई खान नपुग्ने कृषक परिवार ५१ प्रतिशत रहेका छन् । त्यस्ता परिवार सबैभन्दा बढी अर्घाखाँची जिल्लामा रहेका छन्, जहाँ ८५.४ प्रतिशत कृषक परिवारलाई आफुले उत्पादन गरेको उत्पादनबाट भएको आम्दानीले मात्र वर्षभरी खान पुग्दैन ।बाँकेमा ६७ हजार ८ सय ८५ कृषक रहेकोमा बर्षभरी खान नपुग्ने कृषक परिवारका प्रतिशत ४३.९ रहेको छ ।