नेपालगन्जको गौरव, अछामको पहिचान लिएर ताजको दौडमा
नेपालगन्जकी जगदिश्वरी शाह (जस्मिन) मिस नेपाल २०२५ को अन्तिम प्रतिस्पर्धामा प्रवेश गर्दै सुदूरपश्चिमको गौरव र अछामको पहिचान बोकेर ताजको दौडमा उत्रिएकी छन् । प्रतिस्पर्धी नम्बर ८ का रूपमा उनी सौन्दर्य, बुद्धि र समाजसेवाको अद्वितीय संयोजनका साथ अघि बढेकी हुन् ।
अछामको तुर्माखाँदमा जन्मिएकी शाहले प्रारम्भिक शिक्षा गाउँमै पूरा गरिन् । त्यसपछि नेपालगन्जबाट बीबीए र काठमाडौँबाट एमबीए गर्दै उनले उच्च शिक्षा हासिल गरिन् । पििरवारका सदस्यका अनुसार, पढाइमा सधैं अब्बल रहने उनको विशेषता मानिन्छ ।
सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय शाहले बास नेपाल, एकाउन्टबिलिटी ल्याब र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालमार्फत सुशासन, अपाङ्गता अधिकार र सामाजिक न्यायका क्षेत्रमा योगदान दिएकी छन् । धारिलो वक्तृत्व क्षमताका कारण विभिन्न वक्तृत्व प्रतियोगितामा विजयी भएकी उनी मिस नेपालको मञ्चमा पनि यो क्षमता आफ्नो बलियो पक्ष हुनेमा विश्वस्त छिन् ।
हाल युएस एम्बेस्सी युथ काउन्सिलकी सदस्यका रूपमा सक्रिय शाहले आफ्नो नेतृत्व क्षमता र सामाजिक चेतना स्थापित गरेकी छन् । मिस नेपालको प्लेटफर्म प्रयोग गर्दै सौन्दर्य मात्र होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउने सन्देशलाई धेरैसम्म पुर्याउने आफ्नो लक्ष्य सुनाउँदै शाहले सहयोगको आग्रह गरिन् ।
उनीसँगैका सहपाठी भन्छन्, ‘नेपालगन्जको पहिचान र अछामको मूल थाम्दै, जगदिश्वरी शाह मिस नेपाल २०२५ को मञ्चमा सौन्दर्य, बुद्धि र समाजसेवाको उदाहरण प्रस्तुत गर्न तयार छिन् ।’