ट्राफिक व्यवस्थापनमा अम्बे फर्निसिङ गार्डेनको सहकार्य, श्रेष्ठलाई सम्मान
बाँकेको नेपालगन्जस्थित सुर्खेतरोडमा बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले जिल्ला ट्राफिक कार्यालयले स्पीड लिमिट सम्बन्धी सार्वजनिक सूचनाका संकेत बोर्डहरू लगाएको छ । ती सूचना बोर्ड जडान तथा व्यवस्थापनमा अम्बे फर्निसिङ गार्डेनले सहयोग तथा साझेदारी गरेको हो ।
ट्राफिक कार्यालयका अनुसार, सुर्खेतरोडको बजार क्षेत्रमा सवारीको गति ४० किमी प्रतिघण्टा तोकिएको छ भने अन्य खण्डहरूमा ५० किमी प्रतिघण्टा गति सीमा लागू गरिएको छ । दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई व्यवस्थित बनाउन यो निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।
यसै क्रममा अम्बे फर्निसिङ गार्डेनले नेपालगन्जको ट्राफिक व्यवस्थापनलाई लक्षित गर्दै आवश्यक सूचना बोर्डहरू निर्माण तथा स्थापना प्रक्रियामा सानो सहयोग प्रदान गरेको हो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
अम्बे फर्निसिङ गार्डेनका प्रवन्ध निर्देशक पंकज कुमार श्रेष्ठले समुदायसँग जोडिएका कार्यहरूलाई निरन्तरता दिने बताएका छन् । उनले दैनिक नेपालगन्जसँग भने, ‘सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै समुदायको हितमा यस्ता कार्यहरूलाई निरन्तरता दिने हाम्रो प्रयास रहनेछ ।’ उनले थपे, ‘हामी विश्वास गर्छौं, सुरक्षित ट्राफिक, सभ्य समाज र समृद्ध नेपालगन्जको आधार हो ।’
ट्राफिक व्यवस्थापनमा पु¥याइएको योगदानको कदर गर्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले प्रवन्ध निर्देशक श्रेष्ठलाई सम्मान पनि गरेको छ । कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक कनकबहादुर शाहीले हस्ताक्षर गरेको सम्मानपत्रमा सहयोगप्रति उच्च प्रशंसा व्यक्त गरिएको छ ।
सम्मानपत्रमा भनिएको छ, ‘बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न र ट्राफिक व्यवस्थापनका लागि तपाईले गरेको सहयोगको उच्च प्रशंसा गर्दछौं ।’ ट्राफिक कार्यालयले निजी क्षेत्रको यस्तो सहयोगले सडक सुरक्षालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।
कार्यक्रम तथा सहकार्यले नेपालगन्जमा सडक अनुशासन, गति नियन्त्रण र सुरक्षित यातायात व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ ।





























