लुम्बिनी प्रदेशका लोपोन्मुख र विविध सांस्कृतिक सम्पदामाथि गहिरो बौद्धिक विमर्श गर्दै सोमवार कोहलपुरमा आयोजित प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठीमा थारु, कुसुन्डा, अवधि र मुस्लिम समुदायका सांस्कृतिक पक्षबारे विस्तृत कार्यपत्र प्रस्तुत गरिएको छ ।नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्र र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा भएको उक्त कार्यक्रमले स्थानीय संस्कृतिको संरक्षण र अध्ययनलाई प्राथमिकतामा राखेको छ । सङ्गोष्ठीमा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुदनकुमार पौडेलले संस्कृति राष्ट्रको अमूल्य सम्पदा भएको उल्लेख गरे। उनले भने, ‘हाम्रा संस्कृति राष्ट्रका अमूल्य निधि हुन् । तिनको संरक्षण र प्रवर्धनका लागि यस्ता कार्यक्रम अत्यन्त महत्त्वपूर्ण हुन्छन् ।’ उनले आधुनिक प्रविधिको उपयोगबाट प्राचीन संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्न सकिने सम्भावना पनि औँल्याए । कार्यक्रममा प्रस्तुत पहिलो कार्यपत्र ‘थारू जातिका धार्मिक तथा सांस्कृतिक अनुष्ठानमा प्रकृति र पर्यावरणीय चेतना’ महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. राजकुमार थारूले प्रस्तुत गरे । उक्त कार्यपत्रमाथि पूर्वमन्त्री तथा थारू संस्कृतिका अध्येता डा. गोपाल दहितले टिप्पणी गर्दै थारु समुदायका धार्मिक अनुष्ठानहरूमा प्रकृतिप्रतिको सम्मान गहिरो रूपमा स्थापित रहेको निष्कर्ष प्रस्तुत गरे ।





























